फागुन २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ को ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ।
दर्शकको ध्यान खिच्न सफल यो फिल्मको एक्सनलाई दर्शकले निकै मन पराएका छन्। सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूले पनि यो फिल्म र यसको मुख्य नायक सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रस्ट देखिन्छ।
नायक श्रेष्ठ चार वर्षपछि दर्शकमाझ आउँदैछन्। यसपटक, उनको एङ्ग्री लुक्सलाई दर्शकले मन पराएका छन्। अधिकांश दर्शकले फिल्मले हलिउड स्टाइलको एक्सन र मेकिङ शैली अपनाएको भन्दै तारिफ गरेका छन्। सार्वजनिक भएको दुई दिनमै ११ लाख भ्यूज बटुलेको फिल्मले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ।
यति मात्र होइन, सुशिलका विभिन्न अन्तर्वार्तामा पनि दर्शकले उनीप्रति अथाहा प्रेम देखाएको स्पष्ट देख्न सकिन्छ।
ट्रेलरमा फिल्मको मेकिङ, स्टाइल, सुशिलको एक्सन उत्कृष्ट देखिएको छ।
त्यसैले, फागुन २९ गते बक्स अफिसमा यो फिल्मले उत्साहजनक व्यापार गर्न सक्ने आँकलन गरिएको छ। विक्की महर्जनको निर्देशनमा तयार भएको फिल्ममा अमित अग्रहरिको लगानी छ। फिल्मलाई साहिल खानले सम्पादन गरेका हुन् भने एक्सन कोरियोग्राफी चुल्ठे काजीले गरेका छन्।
नेपालमा पछिल्लो समय एक्सन फिल्मको लहर नै चलेको छ। दर्शकको ध्यान पनि एक्सन फिल्मले तानिरहेका छन्। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय स्तरको एक्सन समावेश यो फिल्मले दर्शकको ध्यान खिच्ने देखिएको छ। फिल्ममा सुशिलको साथमा नरेश पौडेल, शिक्षा संग्रौला लगायतका कलाकारहरूको अभिनय छ।