नेपाल चलचित्र कलाकार संघद्वारा कलाकार सम्मानित हुने

0 Shares

काठमाडौं – नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार तथा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ। हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले विभिन्न पुरस्कार तथा सम्मानका लागि कलाकारहरूको छनोट गरेको हो।

वि.सं. २०५५ सालमा स्थापना भएको नेपाल चलचित्र कलाकार संघ पुरस्कार यस वर्ष निम्न कलाकारहरूलाई प्रदान गरिनेछ:

वि.सं. २०७८ सालको पुरस्कार – ५ दशकदेखि अभिनय गर्दै आएका चरित्र अभिनेता मुकुन्द किसोर भट्टराई
वि.सं. २०७९ सालको पुरस्कार – ४ दशकदेखि अभिनय गर्दै आएका चरित्र अभिनेता लय संग्रौला
वि.सं. २०८० सालको पुरस्कार – ४ दशकदेखि अभिनय गर्दै आएका अभिनेता पुरण जोशी

त्यस्तै, संघका संस्थापक संयोजक स्व. शान्ती मास्केको स्मृतिमा स्थापित शान्ती मास्के स्मृति पुरस्कार यस वर्ष ४ दशकदेखि अभिनय गर्दै आएकी अभिनेत्री गौरी मल्ललाई प्रदान गरिनेछ।

संघका अनुसार, नेपाल चलचित्र कलाकार संघ पुरस्कारको राशी रु. ७५,००० (पचहत्तर हजार) रहेको छ, भने शान्ती मास्के स्मृति पुरस्कारको राशी रु. ५६,००० (छपन्न हजार) रहेको छ।

‘गोपाल राउत स्मृति पुरस्कार’ घोषणा

केही वर्षअघि दिवंगत भएका कलाकार गोपाल राउतको सम्झनामा अमेरिकामा रहेका कलाकार र लक्ष्मी शर्माले संघलाई तीन लाख रुपैयाँको अक्षयकोष प्रदान गरेका थिए। उक्त कोषको व्याजबाट यस वर्षदेखि ‘गोपाल राउत स्मृति पुरस्कार’ स्थापना गरिएको छ।

वि.सं. २०८० सालको गोपाल राउत स्मृति पुरस्कार ४ दशकदेखि अभिनय गर्दै आएका कलाकार रामकाजी घिमिरेलाई प्रदान गरिनेछ। यस पुरस्कारको राशी रु. १०,००० (दश हजार) रहेको छ।

अन्य सम्मानहरू पनि घोषणा
चलचित्र क्षेत्र र सञ्चारकर्ममा योगदान पुर्याएका अन्य व्यक्तित्वहरूलाई पनि सम्मान गर्ने निर्णय गरिएको छ। सम्मानित हुने व्यक्तिहरूमा:

डा. रुपक घिमिरे
अभिनेता धिरेन शाक्य
सञ्चारकर्मी कृष्ण भट्टराई
कलाकार गीता अधिकारी
अभिनेत्री अनु शाह
एयरसेल ट्राभल
संघका अनुसार, यी सबै पुरस्कार तथा सम्मानहरू आगामी चैत ४ गते संघको वार्षिक साधारण सभामा प्रदान गरिनेछ।

 

सम्बन्धित समाचार

सबै