
शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’ को प्रदर्शन मिति नजिकिएसँगै देशभर अग्रिम टिकट बुकिङ खुला भएको छ।
नेपालकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठूलो चेन आईएनआई सिनेमाजमा १५ शो, वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो, एफक्युब सिनेमामा ५ शो तथा बिएसआर सिनेमाजमा ४ शो समावेश छन्। बुधबार साँझसम्म देशभर करिब १२० शो को अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार दिउँसोसम्म करिब २५० शो पुग्ने अपेक्षा गरिएको छ। हलहरूले उपलब्ध गराएको शो सङ्ख्या हेर्दा यस चलचित्रको व्यापक ओपनिङ हुने प्रक्षेपण गरिएको छ।
‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए। यही कारणले तेस्रो भागले पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ। यो चलचित्र विशेष गरी युवा पुस्तालाई लक्षित छ, जो नेपाली चलचित्रका प्रमुख दर्शक वर्ग हुन्।
‘होस्टेल ३’ को ट्रेलर र प्रचार-प्रसारले सकारात्मक हाइप बनाएकाले हल सञ्चालकहरूले पनि बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान गरेका छन्। त्यसैले उनीहरूले अग्रिम रूपमा नै धेरै शो उपलब्ध गराएका छन्।
चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा व्यापक रूपमा बढेको थियो। ट्रेलर रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको थियो। २१ घण्टामा नै १० लाख भ्युज प्राप्त गरेको यो ट्रेलर हालसम्म २१ लाखभन्दा बढी भ्युज पार गरिसकेको छ।
नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा रहेको यो ट्रेलर भारत, बेलायत, जापान, कोरिया, मध्यपूर्वका विभिन्न देशसहित २० भन्दा बढी देशमा ट्रेन्डिङमा आएको छ। चलचित्रले भारतीय चलचित्र उद्योगहरूको विशाल बजारमा समेत ट्रेन्डिङमा प्रवेश गरी इतिहास कायम गरेको छ।
निर्माण टिमले डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल, सञ्चार माध्यमहरू तथा विभिन्न कार्यक्रमहरूमा प्रभावशाली प्रचार गरिरहेको छ। जसको कारण हल सञ्चालकहरू पनि सकारात्मक देखिएका छन्। यस चलचित्रमा युवा कलाकारहरूको नयाँ टोली रहेको छ, जसलाई दर्शकले नयाँपनका रूपमा हेर्नेछन्। साथै, डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको हुँदा उनीहरूको फ्यान फलोइङले पनि दर्शक तान्ने सम्भावना छ।
सशान कँडेलले निर्देशन गरेको यस चलचित्रको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली आदि रहेका छन्। अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन्, भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा देखिनेछन्।
सिनेमाले विशेषगरी प्लस टु पुस्तालाई आकार्षित गर्ने अनुमान गरिएको छ ।
चलचित्रको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसियट निर्देशकको भूमिका पनि निभाएका छन्। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्, भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन्।
चलचित्रको छायाङ्कन निर्देशन अर्जुन तिवारी ले गरेका छन् भने सम्पादन विकास दाहाल ले गरेका छन्। चलचित्रका एक्सन निर्देशक हिमाल केसी हुन्। सङ्गीतमा अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकल छन्। चलचित्रको प्रोडक्शन डिजाइन यम ओली ले गरेका छन्। नृत्य निर्देशन प्रवीण सिंह र रोशन विश्वकर्मा ले गरेका छन्।
चलचित्रको वितरण काठमाडौँ उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) ले गर्नेछ, भने उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन्।