यस्तो बन्यो हत्या रहस्य बोकेको ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को ट्रेलर

0 Shares

केशव पाण्डेको डेब्यु निर्देशनमा बनेको सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवान) को ट्रेलर सार्वजनिक गरिएको छ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट २८ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको ट्रेलरमा मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्ने प्रवृत्ति कथा मार्फत देखाइएको बुझ्न सकिन्छ। सिनेमाका पाँच मुख्य कलाकारलाई ट्रेलरमा रक्तिम अवतारमा प्रस्तुत गरिएको छ। शहरी परिवेशमा धोका, जालझेल र आफ्नो स्वार्थ पूरा गर्न जस्तोसुकै कदम चाल्न सक्ने प्रवृत्ति पात्रहरूमा रहेको संकेत ट्रेलरले गरेको छ।

लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिएको सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। त्यसैले, विशेषगरी युवा दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ। सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय रहेको छ। यस सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

निर्देशक पाण्डेले आफूलाई फरक काम गर्न मन पर्ने भएकाले डेब्यु निर्देशनका लागि क्राइम थ्रिलर जनरा छानेको बताए। उनले आफ्नो सोचअनुसार नै कलाकार छनोट गरिएको र ती कलाकारबाट उत्कृष्ट काम निकालेको उल्लेख गरे। पोस्ट-प्रोडक्सनमा केही समय लागेकाले सिनेमाको रिलिज ढिलो भएको उनले जानकारी दिए।

सिनेमामा अलमोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन, र सुवास राज काफ्ले प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन्।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन्। सिनेमालाई कुवेर सिने डिस्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

 

सम्बन्धित समाचार

सबै