
तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैतदेखि ९ चैतसम्म कर्णालीको सुर्खेतमा आयोजना गरिने भएको छ।
केबी इन्टरटेनमेन्ट प्रा.लि.ले कर्णालीमा तेस्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागेको हो। गत वर्ष फागुन २३ देखि २८ गतेसम्म दोस्रो कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो।
पहिलो र दोस्रो कार्यशालामा चलचित्रसम्बन्धी आधारभूत कोर्स सिकेका विद्यार्थी तथा नयाँ सहभागीहरूलाई यसपटक चलचित्रबारे उन्नत (एडभान्स) कोर्सको प्रशिक्षण दिइनेछ।
आयोजक संस्थाका अध्यक्ष भूपेन्द्र कुमार खड्काका अनुसार यसपटकको कार्यशाला विशेष रूपमा प्रयोगात्मक हुनेछ।
“कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ। सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षदेखि कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं,” अध्यक्ष खड्काले भने।
यस कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्ष तथा लोकप्रिय कलाकार दिनेश डिसी र पूर्व अध्यक्ष एवम् चलचित्र निर्देशक दयाराम दाहालले विशेष कक्षा सञ्चालन गर्ने छन्।
त्यसैगरी, चलचित्र विकास बोर्डका सदस्य एवम् निर्देशक राजु केसी ले प्रयोगात्मक कक्षा सञ्चालन गर्ने छन्।
कार्यशालामा अभिनेत्री सरिता गिरी ले अभिनयसम्बन्धी प्रशिक्षण दिनेछिन् भने छायाँकार निरज कँडेल ले छायांकनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नेछन्। साथै, फिल्म सम्पादक रुपेश मिजार ले फिल्म सम्पादनसम्बन्धी कक्षा लिनेछन्।
कार्यशालामा सहभागी विद्यार्थीहरूले तीन वटा वृत्तचित्र र दुई वटा लघु चलचित्र निर्माण गर्ने छन्।
कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थीहरूले यो कार्यशालामा भाग लिनेछन्। चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना हुने यो कार्यशालालाई नेपाल टेलिकम, नविल बैंक र एनसेल ले सहयोग गर्नेछन्।