देशभर प्रदर्शनमा आयो ‘होस्टेल ३’

0 Shares

‘होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ।

सशान कँडेल निर्देशित यो सिनेमाले देशभर २०० भन्दा बढी शो पाएको छ। हलहरूले बुधवारदेखि नै अग्रिम बुकिङ खुला गरेका थिए र शुक्रवार बिहानसम्म हलहरूमा पूर्ण सोल्ड आउट नभए पनि दर्शकहरूको उपस्थिति उत्साहजनक रहेको छ। ‘नन होलिडे’ रिलिजमा हलहरूमा प्राप्त शो र बुकिङको आँकडालाई हेर्दा चलचित्रको व्यापारले राम्रो गति लिने वितरकहरूले बताएका छन्।

‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करणहरू बक्स अफिसमा सफल भएकाले यो चलचित्र प्रतीक्षित थियो। युवा पुस्तालाई लक्षित यो चलचित्रले नेपाली चलचित्रका मुख्य दर्शक वर्गलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। डिजिटल युगका लोकप्रिय अनुहारहरूले अभिनय गरेको यस चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका मुख्य भूमिका रहेका छन्। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन्।

यसको गीत र ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा बढेको थियो। ट्रेलर रिलिजको ६ घण्टामै युट्युबको ट्रेन्डिङमा परेको थियो र २१ घण्टामा १० लाख भ्युज पाएको थियो। हालसम्म पनि यो ट्रेलर नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा छ भने भारत, बेलायत, जापान, कोरिया, मध्यपूर्वसहित २० भन्दा बढी देशमा ट्रेन्डिङमा आएको थियो। चलचित्रले भारतीय चलचित्र उद्योगको ट्रेन्डिङमा प्रवेश गरी इतिहास कायम गरेको छ।

माधव शर्माले पटकथा तथा संवाद लेखेका छन् भने उनी एसोसियट निर्देशक पनि हुन्। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन्।

अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन्। हिमाल केसी एक्सन निर्देशक हुन्। अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलले सङ्गीत दिएका छन्। यम ओलीले प्रोडक्शन डिजाइन गरेका छन् भने प्रवीण सिंह र रोशन विश्वकर्माले नृत्य निर्देशन गरेका छन्। चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन्।

सम्बन्धित समाचार

सबै