एच्यु हेयर वेल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ सिजन ७ को पहिलो अडिसन सम्पन्न भएको छ। रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.द्वारा आयोजित यस प्रतियोगिताको एच्यु हेयर वेलका अध्यक्ष उज्ज्वल मानन्धरले दीप प्रज्वलन गरेर पहिलो अडिसन उद्घाटन गरे।
काठमाडौँको रवीभवन स्थित रोज ब्युटी एकेडेमीमा यो सिजनको पहिलो अडिसन सम्पन्न भएको हो। यस पटक अडिसनमा सहभागी प्रतियोगीहरूमध्येबाट १० जना प्रतियोगी चयन भएका छन्। यस्तै, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ सिजन ७ को अर्को अडिसन यही २८ फागुनमा रोज ब्युटी एकेडेमीमा हुने भएको छ।
ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ सिजन सेभेनको प्रमुख अतिथिमा उज्ज्वल मानन्धर र विशेष अतिथिमा लोकप्रिय हास्य अभिनेत्री पल्पसा डँगोल थिए।
प्रतियोगिताको निर्णायकमा रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर एवम् कस्मोलोजिस्ट परिषी कारंजित, लायन्स क्लब अफ काठमाडौँ अभियानको अध्यक्ष नकुल गिरी, कोषाध्यक्ष सुरेन्द्र गिरी, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो बिजेता एवम् सञ्चारकर्मी गायिका सरिता भारती, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल, मिस ब्युटीफुल बिजेता सनम खड्गी, ब्युटिसियन ऋतु पौडेल थिए।
यस्तै, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की फस्ट रनरअप निशा थापा बस्नेतलगायत पनि सो अडिसनमा अतिथिको रूपमा रहेका थिए।
सो कार्यक्रममा सबैलाई स्वागत गर्दै रोज ब्युटी एकेडेमीकी अध्यक्ष एवम् वरिष्ठ ब्युटिसियन सोनी कारंजितले ब्युटिसियनहरूको प्रतिभा प्रस्तुतिको लागि आफूहरूले यो प्रतियोगिता आयोजना गर्दै आएको बताइन्।
अर्को आयोजक एवम् विलक्षण क्रियसन प्रा.लि.का अध्यक्ष, गीतकार डब्बु क्षत्रीले सबैलाई धन्यवाद ज्ञापन गर्दै सिजन ६ सम्म यो प्रतियोगिता ब्युटिसियनहरूलाई यो क्षेत्रमा प्रोत्साहन गर्दै उत्कृष्ट परिणाम दिन सफल भएको बताए।
एच्यु हेयर वेलका अध्यक्ष उज्ज्वल मानन्धरले पनि ब्युटिसियनहरूका लागि यो प्रतियोगिता निकै राम्रो भएको बताउँदै यसमा आफू र आफ्नो संस्था जोडिन पाउँदा खुसी लागेको बताए।
रोज ब्युटी एकेडेमीकी प्रबन्ध निर्देशक एवम् कस्मोलोजिस्ट परिषी कारंजितले प्रतियोगीहरूलाई आफूहरूले विभिन्न प्रशिक्षण दिएर अझ प्रतिभावान् बन्न सघाउने बताइन्।
कार्यक्रममा लोकप्रिय हास्य अभिनेत्री पल्पसा डँगोल, लायन्स क्लब अफ काठमाडौँ अभियानको अध्यक्ष नकुल गिरी, कोषाध्यक्ष सुरेन्द्र गिरी, ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो बिजेता एवम् सञ्चारकर्मी गायिका सरिता भारती, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोललगायतले नयाँ प्रतियोगीहरूलाई शुभकामना दिए।