
नयाँ पुस्ताको प्रेम कथामा आधारित रोमान्टिक कमेडी सिनेमा ‘माया प्रीति’ले कास्टिङ कल आह्वान गरेको छ।
सिनेमाको प्रमुख भूमिकाको लागि पुरुष कलाकार, नकारात्मक भूमिकाका लागि पुरुष कलाकार, पारिवारिक सदस्यहरूको भूमिकाका लागि पुरुष तथा महिला कलाकार, साथै अन्य सहायक भूमिकाका लागि अडिसन खुला गरिएको निर्देशक अवि श्रेष्ठले बताए।
सिनेमाको प्रमुख भूमिकामा अभिनेत्री दिव्या रायमाझी अनुबन्धित भइसकेकी छिन्। सिनेमाको कलाकार म्यानेजमेन्ट कम्पनी लिभेन्ट्स् स्टुडियोका अनुसार, यस सिनेमकी अभिनेत्री दिव्या रायमाझीको जोडीको रूपमा अभिनय गर्ने पुरुष युवा कलाकार तथा अन्य कलाकारहरूको लागि यो अडिसन आह्वान गरिएको हो।
अडिसनमा सहभागी हुन ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गर्न सकिनेछ। अडिसनमा सहभागिताको लागि इच्छुकले आफ्नो बायोडाटा, फोटोहरूसँगै १ देखि ४ मिनेटसम्मको अभिनयको भिडियो क्लिप पठाउनुपर्नेछ।
सिनेमाका निर्देशक श्रेष्ठका अनुसार, ‘माया प्रीति’मा एक निःशर्त प्रेमको यात्रा हुनेछ, जसमा जस्तोसुकै परिस्थितिमा पनि अविरल प्रेमको महसुस हुनेछ।
निर्माण समूह नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म काम गरिसकेको अनुभवी समूह हो। वन टू थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुने यस सिनेमाका निर्माता सुवास चन्द्र प्रधान हुन्। चर्चित अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताको रूपमा रहेकी छिन् भने कार्यकारी निर्माताकै रूपमा फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन्।
यसै गरी, सिनेमाको क्रिएटिव निर्देशक प्रणव जोशी रहनेछन्, जो २०७२ सालमा रिलिज भएको सुपर हिट सिनेमा ‘रेशम फिलिली’का निर्देशक हुन्। साथै, उनी एआई कलाकारका रूपमा पनि परिचित छन्।
सिनेमाको छायाङ्कन चाँडै सुरु गर्ने तयारी भइरहेको छ।