
हरिवंश आचार्यको बहुप्रतिक्षित सिनेमा ‘भुठान’ ले कागजको खोस्टो बोलको गीत रिलिज गरेको छ ।
पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द र वाचन, रिदम कँडेलको संगीत संयोजन, सुनिल शिवभक्तिको सम्पादन रहेको यस गीतले घर फर्कन नपाएको परदेशीको व्यथा बोलेको छ । गीत नवराज पराजुलीको युट्युब च्यानलबाट प्रसारण गरिएको छ ।
यस गीतले आमदर्शक र श्रोताको मनमा पनि हलचल पैदा गर्ने देखिन्छ ।सार्वजनिक गीतले मातृभूमि भुटानबाट जबरदस्ती धपाइएका लाखौं नेपाली भाषी भुटानी शरणार्थीको व्यथा प्रस्तुत गर्छ । गीतमा अभिनेता हरिवंशले तिनै नेपाली भाषी भुटानी जो अमेरिका लागायतका विभिन्न मुलुकमा पुनर्वास गराइएका छन् उनीहरुको सामुहिक आवाज बोल्छ । यो गीतलाई ती भूटानीका साथमा घरबाट टाढा रहेका समस्त परदेशी व्यक्तिहरूलाई घरको यादमा चुर्लुम्म डुबाउँछ र एकपटक भए पनि आफ्नो गाउँ वा ठाउँ पुग्ने चाहना प्रस्तुत गर्छ ।
गीतमा घर बाहिर रहेका पात्रले आफू घर नफर्की मर्न पनि नमिल्ने र कालले समेत ताकेता गर्न नमिल्ने भावका मार्मिक शब्दहरू छन् । गीतमा हरिवंश आचार्यको जीवन्त अभिनय देखिएको छ भने सुसन प्रजापतिको अद्भुत छायांकन कला पनि प्रकट भएको छ ।
अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो सिनेमा को मुख्य भूमिकामा हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द –लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत बनेको यो पहिलो नेपाली सिनेमा हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् ।
भुठानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुठानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा यस सिनेमा भुठान, द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान ले प्रस्तुत गरेको छ ।
बुलबुल सिनेमाबाट नाम कमाएका विनोद पौडेलको निर्देशन रहेको भुठान का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् भने कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट र अपार श्रेष्ठ छन् । सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ्ग, उज्जवल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, हलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।
यस सिनेमा लाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गरेको हो ।
सिनेमा वैशाख १२, २०८२ मा प्रदर्शनमा आउनेछ ।