फागुनको २९ गते रिलिज हुने आउटल: दफा २१९’ले सार्वजनिक गर्‍यो ओएसटी ‘अन्धो कानुन’

0 Shares

फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म *‘आउटल: दफा २१९’*को ओएसटी सार्वजनिक गरिएको छ।

‘अन्धो कानुन’ बोलको गीतले नेता र सरकारमाथि आक्रोश पोखेको छ। कानुन अन्धो हुँदा देशमा नारीको अस्मिता कसरी लुटिएको छ भन्ने गीतमा व्यक्त गरिएको छ।

मिस्टर डीले तयार पारेको यो गीतमा उनका र्याप र संगीत रहेको छ। नितु पुनले पनि गीतमा स्वर दिएकी छन्।

यो गीतको भिडियोमा दिर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशन रहेको छ। सलिनाको कार्यकारी निर्देशनमा बनेको गीतको भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन्। राजेश कुटुको कोरियोग्राफी यसमा रहेको छ। नविन गुरुङले फिल्मको छायांकन गरेका छन्।

सार्वजनिक गीतलाई दर्शकले निकै मन पराएका छन्। फिल्मको यस गीतले जनताको आवाज बोलेको भन्दै दर्शकको उत्साह अझै बढेको प्रतिक्रिया छ।

यो गीतमा एउटै व्यक्तिले बारम्बार सरकारमा जाने, जनतामाथि अन्याय गर्ने, बलात्कारीलाई संरक्षण दिने जस्ता शब्द र विचार प्रस्तुत गरिएको छ।

यो फिल्मको लेखन र निर्देशन विक्की महर्जनले गरेका हुन्। फिल्ममा अमित अग्रहरी र निशा गुइडेको लगानी रहेको छ। विक्की महर्जन र दिर्घ धामीको पटकथा रहेको फिल्ममा विनोद कठायत कार्यकारी निर्माताको रूपमा छन्।

फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारका अभिनयहरू छन्।

चुल्ठे काजीको एक्सन रहेको फिल्ममा साहिल खानको सम्पादन छ। फिल्मको ट्रेलरलाई दर्शकको उच्च साथ प्राप्त भएको छ। यसको मेकिङ, प्रस्तुति, कलाकारहरूको अभिनय र एक्सनको सर्वत्र तारिफ भइरहेको छ। यसैले, यो फिल्मले दर्शकको सुखद साथ पाउने विश्वास गरिएको छ।

 

सम्बन्धित समाचार

सबै