
टीकापुरको नाम सानोमा रेडियोमा सुनेको हुँला। अकस्मात् हेलिकोप्टर चढेर महाराजको सवारी भयो भनेर पनि सुनेको हुँला।
म राजनीतिज्ञको सेवामा थिएँ। राजनीतिले आफ्नै लक्ष्य राख्थ्यो, तर मैले कहिल्यै राजनीति गरिनँ। सहयोगी भूमिकामा थिएँ। जब गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए, मैले मुलुकका विभिन्न ठाउँमा जाने अवसर पाएँ। त्यसबेला म टीकापुर आएको थिएँ।
टीकापुर भन्नेबित्तिकै नयाँ सहर, नयाँ बसोबास, नयाँ बस्तीको कल्पना आउँछ।
पछिल्लो कालखण्डमा, संघीयताको कोल्टे फेर्ने प्रक्रियामा टीकापुरमा उत्पन्न सामुदायिक तनावलाई बढी सम्झन्छौं। नयाँ ठाउँ निर्माण हुँदै गर्दा यसलाई कसरी बुझ्ने भन्ने कुराले जहिल्यै मनमा प्रश्न उब्जाउँछ। टीकापुर, महेन्द्रनगर, राजविराज भन्नेबित्तिकै नेपालका बसोबास र नगर विकासको तस्बिर हाम्रो अगाडि आउँछ।
टीकापुरमा उभिएर यो विषयमा सोच्दा लाग्छ— टीकापुरवासी को हुन्? टीकापुरको इतिहास हेर्दा यो नाम धेरै पुरानो छैन। टीकापुर भनेको पूर्वाधार हो, बाटो हो, व्यवस्थित सहर हो, तर अझै अपूर्ण छ। कुनै सहर वा ठाउँ पूर्ण कहिल्यै हुँदैन। बनारसलाई नै हेरौं— मोदीले क्योटो बनाउने प्रयास गरिरहेका छन्। जुन बनारसको कल्पना हामीले गरेका थियौं, त्यो अब हामीसँग छैन। समयअनुसार सहर परिवर्तन भइरहन्छ। साँचो अर्थमा ‘घर’ बन्न समय लाग्छ।
मैले House (भौतिक संरचना) र Home (आवासीय अनुभूति) बीचको फरक अनुभव गरेको छु। हामी भौतिक रूपमा राम्रो घर बनाउँछौं, तर त्यहाँ बस्दा बिहान भान्सामा असजिलो महसुस हुन सक्छ। वास्तु नमिल्न सक्छ। एउटा घर साँच्चैको बासस्थान बन्न समय लाग्छ। ६० वर्षको इतिहासमा टीकापुर ‘हाउस’ बाट ‘होम’ बन्ने प्रयासमा छ।
मलाई लाग्छ, टीकापुरमा बल्ल तीन पुस्ता बित्दैछ। यो बन्ने क्रममा विभिन्न फेस्टिभलहरूले यहाँ प्राण-प्रतिष्ठा गर्ने काम गरेका छन्। निर्जीव ठाउँलाई सजीव समाजमा रूपान्तरण गर्ने प्रयास भइरहेको छ। तर समाज यति तीव्र गतिमा परिवर्तन भइरहेको छ कि पुस्तान्तरणसँगै हाम्रो इच्छा-आकांक्षा बढिरहेको छ।
प्रशासनमा अहिले पनि गुनासो सुनिन्छ। ‘हामीलाई गाह्रो पार्न कर्णाली, हुम्ला, जुम्ला पठाइन्छ’ भनेर। तर इतिहासमा हेरौं— राणाका सन्तानहरूबीच आपसी द्वन्द्व हुँदा विर्ता वा मौजा दिइन्थ्यो, तर कर्णाली वा पाल्पा पठाइन्थ्यो। मानिसहरू विभिन्न कारणले एक ठाउँबाट अर्को ठाउँ जान्छन्। राजा महेन्द्र धनगढीबाट टीकापुर नआएको भए के हुन्थ्यो? यहाँका बासिन्दाहरू को हुन्थे? कुनै पनि घटना, ठाउँ, र परिवेशले नयाँ अस्तित्व जन्माउँछ। व्यक्ति पनि त्यही हो— बाटोमा जाँदा अचम्मका मान्छे भेटिन्छन्, नयाँ सम्बन्ध स्थापित हुन्छ।
हाम्रो अवस्थिति नै हाम्रा दृष्टिकोण निर्धारण गर्छ। हामी उभिएको ठाउँअनुसार अनुभव गर्छौं। लोकतन्त्रको मर्म पनि त्यही हो— सबैको दृष्टिकोण फरक हुन्छ। हामी एउटै ठाउँमा बसे पनि उभिएको ठाउँ अलिकति फरक हुन्छ। शून्य (Zero) त्यहीँ हुन्छ, तर हेराइको कोणले अर्थ फरक पार्छ।
टीकापुरमा उभिएर हेर्दा:
पहाड कस्तो देखिन्छ?
मधेस कस्तो देखिन्छ?
समुदाय कस्तो देखिन्छ?
विगत, वर्तमान, र भविष्य कस्तो देखिन्छ?
यिनै प्रश्नहरू महत्वपूर्ण छन्। फागुन महिनाका यी फेस्टिभलहरूलाई मैले ‘मिनी लोकतन्त्र’ भनेको छु। संसद्मा जेसुकै भए पनि स्थानीय सहरमा हाम्रो भाषा, अन्तर-समुदाय, लैंगिक सम्बन्ध, जातीय सम्बन्ध, सिर्जनशीलता आदिका विषयमा छलफल हुनु आवश्यक छ।
लोकतन्त्र संसद्मा मात्र बलियो हुँदैन, यस्ता जमघट र कुराकानीले पनि बलियो बनाउँछ। एकजना श्रद्धेय साथीले भने— “अब कुरा कति गर्ने, हरिजी?”
तर बल्ल त कुरा गर्न पाएका छौं! १० वर्ष अघिसम्म कुरा गर्ने वातावरण नै थिएन। केही समयअघि दुवैथरी हरियो लुगा लगाउनेहरूबाट त्रास थियो।
मानिसहरू जब आफ्नो थातथलो छाड्छन्, उनीहरू अस्तित्वको खोजीमा हुन्छन्। यहाँ जो पहिल्यै बस्न आउनुभएको थियो, जाँगर र जोससहित आउनुभएको थियो। तर यहाँ पहिल्यै पनि मानिसहरू थिए!
लोकतन्त्रले आएका र गएकाबीचको संवादलाई बलियो बनाउने हो। को पहिले आयो, कहिले आयो भन्ने झगडा गर्नु आवश्यक छैन। जो आइपुग्यो, अब त्यो तथ्य हो। कहीँ न कहीँ मेलमिलाप (Reconciliation) हुनुपर्छ। हरेक भाषाका मानिसले यहाँ बोल्न पाउनु पर्छ। लोकतन्त्रको सबैभन्दा ठूलो आधारभूत मूल्य समानता हो।
इच्छा-आकांक्षा नभएको समाज भनेको मरेको समाज हो। आकांक्षाले समाजलाई जोगाउँछ। इच्छा-आकांक्षालाई सही रूपमा व्यवस्थापन गर्न सकिन्छ। यदि आकांक्षा बढे, अलिकति निराशा (Frustration) आउन सक्छ, तर त्यसलाई पनि व्यवस्थापन गर्न सकिन्छ।
तर जब समाज निष्क्रिय हुन्छ, त्यो नैराश्यतिर लम्कन्छ। अहिले नेपालमा देखिएको वैदेशिक पलायन (Brain Drain) हेर्दा समाज नैराश्यतिर गएको जस्तो लाग्छ। तर के डाँडाकाँडाबाट झरेर, झाडी फाँडेर, नदी-नाला तरेर बसेका नेपालीहरू यति सजिलै हार मान्छन्?
व्यक्ति हार्न सक्छ, तर समाज हार्न सक्दैन।
त्यसैले, पुनर्जागरणको सम्भावना हरेक समाजमा रहन्छ। समस्या दबाउनुको सट्टा खुला छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्छ। २०६२/६३ को आन्दोलनमा हामी एउटै सूत्रमा बाँधिने कुरा गर्थ्यौं। तर जसले एजेन्डा बोकेका थिए, तिनैले एजेन्डा छाडे। त्यसैले आज हामी संशयमा छौं।
तर यो डराउने समय होइन, विश्वास सिर्जना गर्ने समय हो।
टीकापुर अहिले बाटो खोजिरहेको छ। ४०–५० वर्ष भइसक्यो। हामी थाकेर घर जान चाहन्छौं, तर सहर भनेको बाँच्ने, बदलिने, कोल्टे फेर्ने ठाउँ हो। सहरको पहिचान बनाउनुपर्छ। सहरको अर्गानिक इभोलुसन हुन्छ, तर टीकापुर योजनाबद्ध रूपमा बनाइएको सहर हो।
भारतको चण्डीगढ पनि योजनाबद्ध रूपमा बनाइएको सहर हो, तर केही हिसाबले असफल भयो। किनभने त्यो सहर ब्यूरोक्र्याट्सहरूका लागि बनाइएको थियो, सर्वसाधारणका लागि होइन।
नेपाल अझै पनि गाउँबाट सहर बन्ने यात्रामा छ। त्यसले समाजमा तनाव ल्याउँछ। भोलिको सहर कल्पना गर्दा सार्वजनिक स्थान जोगाउनुपर्छ। माइतीघर मण्डला मास्ने काम नगर्नुहोस्। चित्त नबुझे पनि असहमति जनाउने ठाउँ जोगाउनुहोस्।
यही नै लोकतन्त्रको सुन्दर पक्ष हो।
(विश्लेषक शर्माले टीकापुर साहित्य महोत्सवमा शनिबार दिएको विद्वत् प्रवचनको सम्पादित अंश।)