सुटिङअघि नै ‘आ बाट आमा २’को अमेरिका–क्यानडा राइट्स बिक्री

0 Shares

काठमाडौं । अभिनेता पल शाह स्टारर नेपाली फिल्म आ बाट आमा २ को अमेरिका र क्यानडा प्रदर्शन अधिकार निर्माणअघि नै बिक्री भएको छ । निर्माण टिमले फिल्म घोषणा गरेलगत्तै दुवै देशका लागि वितरण सम्झौता फाइनल भएको जनाएको छ ।

निर्माण पक्षका अनुसार डोको फिल्म्स ले फिल्मको अमेरिका र क्यानडा राइट्स नेपाली फिल्म इतिहासकै उच्च रकममध्ये एकमा खरिद गरेको हो । फिल्मको छायांकन सुरु नहुँदै विदेशी वितरकहरूबाट प्रदर्शन अधिकारका लागि चासो बढेको निर्माण टिमले जनाएको छ ।

आ बाट आमा २ मा पल शाह, विपना थापा, आशा श्रेष्ठ, प्रदीप रावत, गजित बिष्टनरेन खड्का अनुबन्धित भइसकेका छन् । अन्य कलाकार तथा अभिनेत्रीहरूको छनोट प्रक्रिया भने अझै जारी रहेको छ ।

फिल्मको पहिलो श्रृंखला आ बाट आमा ले नेपालमा उल्लेखनीय व्यापार र चर्चा कमाएको थियो । सोही प्रभावका कारण सिक्वेलप्रति विदेशमा समेत उच्च उत्साह देखिएको निर्माण पक्षको भनाइ छ ।

निर्देशक तथा निर्माता चन्द्र पन्त ले अमेरिका र क्यानडाका लागि सम्झौता भइसकेको पुष्टि गर्दै अन्य देशका वितरकहरूसँग पनि छलफल भइरहेको जानकारी दिए । उनका अनुसार केही देशका लागि वार्ता अन्तिम चरणमा पुगेको छ ।

निर्देशक पन्तले फिल्मको छायांकन तालिका चाँडै टुंगो लाग्ने बताए । हाल कलाकार चयन र प्राविधिक तयारीको काम भइरहेको तथा छिट्टै फिल्म फ्लोरमा जाने उनले उल्लेख गरे ।

आगामी असोज ३० गते प्रदर्शनमा आउने लक्ष्य राखिएको आ बाट आमा २ को कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले तयार गरेका हुन् । फिल्मको वितरण आरआर फिल्म्स ले गर्नेछ भने डिजिटल अधिकार ओएसआर ले प्राप्त गरिसकेको छ ।

आर्या इन्टरटेन्टमेन्ट प्राली को ब्यानरमा निर्माण हुने फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् ।

सम्बन्धित समाचार

सबै