काठमाडौं । आगामी जेठ १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म एक मुठ्ठी बादल को प्राइभेट स्क्रिनिङ सम्पन्न भएको छ । स्क्रिनिङ कार्यक्रममा पूर्वप्रधानमन्त्री सुशीला कार्की, कांग्रेस नेता सुनिल कुमार थापा, संगीता थापा, पत्रकार नारायण वाग्ले तथा निर्देशक अमन प्रताप अधिकारी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिती रहेको थियो ।
फिल्म हेरेपछि प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री कार्कीले एक मुठ्ठी बादल लाई समाजको यथार्थ चित्रण गर्ने ‘आर्ट फिल्म’को संज्ञा दिइन् । आफू सामान्यतया कम फिल्म हेर्ने बताउँदै उनले यो फिल्मले मध्यमवर्गीय परिवार, पुस्तान्तरणबीचको सोचको टकराव र आधुनिक समाजभित्रको असमानतालाई प्रभावकारी ढंगले प्रस्तुत गरेको उल्लेख गरिन् ।
उनका अनुसार फिल्मले पुरानो पुस्ता र ‘जेन्जी’ पुस्ताबीचको संस्कारगत द्वन्द्वलाई संवेदनशील रूपमा देखाएको छ । आर्थिक असमानता, पारिवारिक दबाब र सन्तानको भविष्यका लागि अभिभावकले गर्ने संघर्षलाई कथामार्फत जीवन्त बनाइएको उनको भनाइ थियो ।
कार्यक्रममा कांग्रेस नेता सुनिल कुमार थापा ले पनि फिल्मले बोकेको सामाजिक सन्देश मार्मिक रहेको प्रतिक्रिया दिए । निर्देशक अमन प्रताप अधिकारी ले भने एक मुठ्ठी बादल लाई नेपाली फिल्म उद्योगकै उत्कृष्ट फिल्ममध्ये एक भएको दाबी गर्दै सबैलाई हेर्न सिफारिस गरे ।
साहारा शर्मा को डेब्यु निर्देशन रहेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्मका निर्माता अभिमन्यु दीक्षित हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् । निर्माण टिममा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल संलग्न छन् ।
फिल्ममा लिन्ह डान गुयेन फान को छायांकन, यशस्वी सभरवाल को प्रोडक्सन डिजाइन, गौरव मल्लिक को सम्पादन तथा जानकी कडायत को भेषभूषा डिजाइन रहेको छ । महिला नेतृत्वलाई प्राथमिकता दिइएको यो फिल्म गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन ले निर्माण गरेका हुन् । नेपालमा फिल्मको वितरण आरआर फिल्म्स ले गर्नेछ ।