काठमाडौं । निर्देशक विनयराज पौडेल को डेब्यु निर्देशनमा बन्न लागेको नेपाली फिल्म अक्षरा को औपचारिक छायांकन सुरु भएको छ । निर्माण टिमले सोमबारदेखि काठमाडौंमा फिल्मको सुटिङ सुरु गरेको जनाएको छ । केही दिनअघि गुहेश्वरी मन्दिर मा स्क्रिप्ट पूजा सम्पन्न भएपछि फिल्म फ्लोरमा गएको हो ।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन तालिका एक महिनाको तय गरिएको छ । निर्देशक विनयराज पौडेल ले पटकथा, संवाद र कलाकार तयारीमा पर्याप्त गृहकार्य गरेर मात्रै सुटिङ सुरु गरिएको बताए । उनका अनुसार कलाकारलाई कार्यशाला गराएपछि मात्र छायांकनमा सहभागी गराइएको छ ।
क्षित बाबु प्रोडक्सन हाउस को प्रस्तुतिमा निर्माण भइरहेको अक्षरा मा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह र सृजना अधिकारी को मुख्य अभिनय रहनेछ ।
फिल्ममा बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना पनि देखिनेछन् ।
फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन् । पटकथा तथा संवाद अभिमन्यु निरवी ले लेखेका हुन् । फिल्ममा सुरेन्द्र राना को शब्द र कर्णराज गिरी को संगीत रहनेछ ।
दिपेन बस्न्यात ले छायांकन गरिरहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जन को रहनेछ । साथै, मदन न्यौपाने को श्रृंगार, प्रार्थना भट्टराई को भेषभूषा तथा सुमन काफ्ले को निर्माण व्यवस्थापन रहेको छ ।
फिल्मको पोस्टर डिजाइन राकेश दाहाल ले गरेका हुन् । नेपालभर वितरण नेशनल सिने ग्रुप नेपालु मार्फत दीपक दंगाल ले गर्नेछन् ।
निर्देशक विनयराज पौडेल ले यसअघि दर्जनौँ नेपाली फिल्ममा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् । लामो अनुभवपछि उनले अक्षरा मार्फत स्वतन्त्र निर्देशनमा डेब्यु गरेका हुन् ।