
निर्देशक राजु गिरीको निर्देशनमा निर्माण हुने नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्याे’ मा अभिनेता प्रकाश घिमीरे भित्रिएका छन्। फिल्मको प्रमुख भूमिकामा यसअघि नै अभिनेता तथा मोडल सागर लम्साल ‘बले’ अनुबन्धित भइसकेका थिए। निर्माण टिमले शनिबार सागरको बुबाको भूमिकाका लागि अभिनेता घिमिरेलाई अनुबन्धित गरेको हो।
चैत्र तेश्रो साताबाट छायांकनको तयारीमा रहेको ‘डल्लेले इन्ट्री मार्याे’ मा सागर लम्साल र प्रकाश घिमीरेका साथमा रबिन्द्र झाललगायतका चर्चित कलाकार पनि अनुबन्धित भइरहेका छन्। संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेकाे स्क्रिप्ट रहेको यस फिल्मका निर्माता सावित्रा चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत र निर्मला बस्नेत रहेका छन्। बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहेको यो फिल्म उषा फिल्म्सको ब्यानरमा निर्माण हुँदैछ।
फिल्मका अन्य कलाकार र प्राविधिकको चयन कार्य तीव्र गतिमा भइरहेको जानकारी निर्देशक गिरीले दिएका छन्। उनले आफ्नो फिल्म तिहारको अवसरमा लक्ष्मीपूजामा प्रदर्शन गरिने बताएका छन्।