‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक

0 Shares

सफलताका साथ दोस्रो दिन प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ। चलचित्रको सफलतासँगै खुसीयाली साट्ने अवसरको रूपमा यस गीतलाई सार्वजनिक गरिएको हो।

किरण माइकलको सङ्गीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल र किरण माइकलको स्वर रहेको छ भने वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रचना रहेको छ। गीतमा नृत्याङ्गना आश्मा विश्वकर्माको पावरफुल नृत्य रहेको छ भने भिडियोमा ‘होस्टेल ३’का कलाकारहरू रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ लगायत पार्टी मूडमा देखिएका छन्। कलाकार पारस बम ‘कुलब्वाय’ भने फरक मूडमा देखिएका छन्। गीतका कोरियोग्राफर रोशन विश्वकर्मा छन्।

शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘होस्टेल ३’को विकेन्ड ओपनिङ उत्साहजनक रहेको छ। चलचित्रले अपेक्षाभन्दा धेरै सफलता प्राप्त गरेको वितरकहरूले बताएका छन्। चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गरेका छन्।

यसैबीच, यस चलचित्रका कलाकारहरू शनिवार बिहानैदेखि काठमाडौंका हलहरूमा दर्शकसँग भेट्न पुगेका छन्। दर्शकहरूले कलाकारहरूलाई बोकेर नचाइरहेका छन् भने कलाकारहरू आफ्नो अगाडि पाउँदा खुसीले व्यापक हुटिङ गरिरहेका छन्। दर्शकहरूले ‘होस्टेल ३’ अपेक्षाभन्दा निकै राम्रो भएको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दिएका छन्।

सशान कँडेलले निर्देशन गरेको यस चलचित्रको पटकथा र संवाद माधव शर्माले लेखेका हुन्। चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकार मुख्य भूमिकामा छन्। प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा छन्।

चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन्। अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेका छन् र चलचित्रको सम्पादन विकास दाहालले गरेका छन्।

 

सम्बन्धित समाचार

सबै