‘के यो नेपाली चलचित्रको स्वर्णीम समय हो?’

0 Shares

नेपाली सिनेमा व्यापारिक हिसाबले निरन्तर सफल भइरहँदा फिल्मकर्मीहरू आशावादी हुन्छन्। असफल हुँदा भने निराशा बढ्छ। अहिले नेपाली सिनेमा क्षेत्र तुलनात्मक रूपमा बढी आशावादी देखिएको समय हो। तर, के यही नै नेपाली सिनेमाको स्वर्णिम समय हो?

टीकापुरमा जारी टीकापुर साहित्य महोत्सवमा ‘स्वर्णिम समयमा नेपाली सिनेमा’ सत्रमा सहजकर्ता दीपज्योति थापाले यही प्रश्न उठाइन्। मञ्चमा निर्देशक मीन भाम, प्रदीप भट्टराई, अभिनेत्री तथा निर्मात्री केकी अधिकारी, तथा अभिनेता एवं निर्माता रविन्द्रसिंह बानियाँ उपस्थित थिए।

अभिनेत्री केकीले सिनेमा र साहित्य आफैंमा प्रगतिशील कुरा भएको बताइन्। उनले भनिन्, “केही हदसम्म हामी स्वर्णिम समयमा छौँ। अहिले हामीले समावेशी सिनेमा देख्न पाइरहेका छौँ। पहिले एउटै प्रकारका अनुहार मात्रै देखिन्थे, अहिले भने विविधता आएको छ। हामी भेनिस, टोरेन्टोजस्ता महोत्सवमा पुगिरहेका छौँ।”
उनका अनुसार, अहिले निर्देशकहरू फिल्म बनाउन थप उत्साहित भएका छन्।

सफल सिनेमाहरू निर्देशन गरिसकेका प्रदीपले भने समय जहिल्यै स्वर्णिम हुने बताए। उनले भने, “तर, स्वर्णिम कालको कसरी सदुपयोग गर्ने भन्ने महत्त्वपूर्ण हो। दर्शकहरूको रुचि बुझेर काम गर्न सके, हरेक समय स्वर्णिम नै हुन्छ।”

तर, निर्माता रविन्द्रसिंह बानियाँ भने प्रदीपको कुरासँग पूर्ण रूपमा सहमत छैनन्। उनले भने, “चलचित्रको गुणस्तरका हिसाबले भने अहिलेको समय स्वर्णिम होइन। कतिपय फिल्म लोकरिझ्याइँका लागि मात्र बनिरहेका छन्।”

अलग धार बनाउन सफल निर्देशक मीन भामका फिल्मले अन्तर्राष्ट्रिय महोत्सवहरूमा राम्रो यात्रा गरे पनि नेपालमा रिलिज हुँदा दर्शकको मन जित्न चुनौती झेल्नुपरेको छ। उनले भने, “मैले बनाएका फिल्म दर्शकले बुझ्दैनन् भनेर भन्नु उनीहरूमाथि अन्याय गर्नुसरह हुन्छ।”

शनिबार सुरु भएको टीकापुर साहित्य महोत्सव २६ गतेसम्म जारी रहनेछ।

सम्बन्धित समाचार

सबै