नेपाली कविताले आजलाई अझै सम्बोधन गर्न बाँकी छ

0 Shares

आजका कविताहरू कस्ता लेखिन्छन्? विभिन्न कार्यक्रम तथा छलफलमा यो विषयमा निरन्तर बहस भइरहेका छन्। टीकापुर साहित्य महोत्सवको दोस्रो संस्करणमा आयोजित ‘आजका कविता’ सत्रमा पनि कविद्वय श्यामल र विप्लव प्रतीकले यस विषयमा विमर्श गरे। कार्यक्रमको सहजीकरण कवि प्रज्वल अधिकारीले गरेका थिए।

कवि श्यामलले आजका कविताहरूले वर्तमान मानिसहरूको चिन्ता, संघर्ष, र मनोभावनालाई अभिव्यक्त गर्ने माध्यम बन्नुपर्ने औंल्याए। उनले भने, “आज भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। हरेक लेखक र कलाकारले आफ्नै समयको चिन्ता गर्छ। तपाईंले जे ग्रहण गर्ने हो, आजबाटै गर्नुपर्छ। हरेकले आफ्नै समयको कथा भन्ने हो।”

तर, श्यामल आजका कविताबाट पूर्ण रूपमा सन्तुष्ट छैनन्। उनले भने, “नेपाली कविताले मलाई सन्तुष्ट हुने गरी संवाद गरेको छैन। अझै पनि कविताले ‘आज’ लाई पर्याप्त रूपमा सम्बोधन गर्न सकेको छैन। आजका केही कवि धर्म नबुझी धार्मिक बन्दै गएका छन्, जुन हल्कापन हो।”

कवि प्रतीकले भने कविता बिग्रनुमा हाम्रो शैक्षिक प्रणालीको कमजोरीलाई मुख्य कारण ठहर्‍याए। तर, उनले आजका कविताहरूप्रति निराश हुन नहुने बताए। उनले भने, “आश मार्नुपर्ने कुनै कारण छैन। सम्भावना छ। कविता कोहीसँग तुलना हुने विषय नै होइन। मानवीय संवेदना, प्रेम, सम्बन्ध, र दर्शनभन्दा माथि उठ्ने चिज नै कविता हो। त्यसैले यसको तुलना गर्नु उचित हुँदैन।”

कवि श्यामलको धारणा छ कि नेपाली गद्य कविता अझै पनि गोपालप्रसाद रिमाल र भूपि शेरचनको शैलीभन्दा बाहिर जान सकेको छैन। उनले भने, “कविताको आफ्नै भाषा हुन्छ। कवितालाई स्वतन्त्र रूपमा बोल्न दिनुपर्छ। तर, अहिले त्यो हुन सकेको छैन।”

कवि प्रतीकले “सेलिब्रिटी बन्ने लोभमा कविता लेख्न नहुने” भन्दै कविता लामो साधनाको मार्ग भएको बताए। उनले आफ्नो अनुभव सुनाउँदै भने, “मैले १६ वर्षको उमेरदेखि कविता लेख्न थालेँ। पहिलो ८ वर्षमा १० डोको कविता लेखेँ। त्यसपछि बल्ल मेरो कविताले स्पष्ट दिशा लिन थाल्यो। अहिले पनि मलाई ‘म कवि हुँ’ जस्तो लाग्दैन, बरु म केवल एक माध्यम हुँ। यो मेरो सतत संघर्षको यात्रा हो।”

टीकापुर साहित्य महोत्सव २६ गतेसम्म चल्नेछ।

सम्बन्धित समाचार

सबै