दिलिपको ‘हेल्लो काशिराम’ को फस्टलुक‍ सार्वजनिक, जेठ २ मा रिलिज

0 Shares

गुपचुप रूपमा निर्माण भई, सम्पादन समेत पूरा गरेको नयाँ सिनेमा ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेको छ। पोस्टर सार्वजनिक भएसँगै सिनेमा बारे उत्सुकता बढेको छ। निर्माण टिमले आगामी २०८२ जेठ २ गतेलाई प्रदर्शन मिति तय गरेको छ।

पोस्टरमा चर्चित अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ, जसले दर्शकलाई सिनेमा कमेडी शैलीमा निर्माण गरिएको संकेत गर्छ। सिनेमा को कथावस्तु अहिले खुलाइएको छैन, तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ।

सिनेमामा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल देखिने छन्। त्यस्तै, हालका चर्चित हास्य कलाकार उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी र उमेश मायालुको समेत विशेष अभिनय रहेको फस्टलुक पोस्टरमार्फत जानकारी दिइएको छ।

दर्शकहरूले चर्चित अभिनेत्री प्रियंका कार्कीलाई विशेष गेस्ट कलाकारको रूपमा देख्न पाउने निर्देशक रिम विश्वकर्माले जानकारी दिए। प्रियंका नेपाली सिनेमा उद्योगको सफल अभिनेत्री भएकाले उनको उपस्थितिले सिनेमालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

रेडलाइन फिल्मस् प्रा।ली को ब्यानरमा निर्माण भएको यो सिनेमाको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्। यसका निर्माता पी।बी। थापा रहेका छन् भने यम आलेले सिनेमा खिचेका हुन्। डेढ करोडको लागतमा निर्माण भएको यो सिनेमालाई मित्र डी। गुरुङले सम्पादन तथा रंग संयोजन गरेका छन्।

सिनेमाको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्। द्वन्द्व निर्देशन शंकर महर्जनले गरेका छन् भने संगीत संयोजन नरेन्द्र यिबोगी र विपिन आचार्यले गरेका छन्। सिनेमा का गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ। नेपाली सङ्गीत क्षेत्रका चर्चित गायक–गायिकाहरूको सहभागिताले सिनेमाको संगीत पक्षलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ।

सिनेमाको प्रचार तथा अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा ‘सेलिब्रेटी टाइम्स प्रा।ली’ ले लिएको छ। नेपाल भित्र मात्र नभई, विदेशमा रहेका नेपाली दर्शकमाझ पनि सिनेमाको पहुँच पु¥याउन डिजिटल र पारम्परिक माध्यमहरू प्रयोग गरिने सेलिब्रेटी टाइम्सले जनाएको छ।

निर्देशक रिम विश्वकर्माले सिनेमाको प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन कलाकार टोलीले आगामी सातादेखि देशव्यापी प्रचार अभियान सुरू गर्ने जानकारी दिए। निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर’, ‘सम्झिराख है’, ‘रेलिमाई’ जस्ता चर्चित सिनेमाहरू निर्देशन गरिसकेका छन्। उनका सिनेमाहरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता र मनोरञ्जनको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने गरेका छन्।

अब ‘हेल्लो काशिराम’ ले दर्शकमाझ कत्तिको प्रभाव पार्नेछ, त्यो टिजर सार्वजनिक भएपछि अझ स्पष्ट हुनेछ। दर्शकको मन जित्न सफल हुनेछ वा असफल? यो प्रश्नको उत्तर भने प्रदर्शनपछि मात्र थाहा हुनेछ।

सम्बन्धित समाचार

सबै