
बिहीबार फागुपूर्णिमाको दिनबाट नयाँ फिल्म ‘आउटल: दफा २१९’ रिलिज हुँदैछ। यो फिल्म विक्की महर्जनले निर्देशन गरेका हुन् भने अमित अग्रहरि निर्माता हुन्।
फिल्म निर्माण गर्न दुई वर्ष लागेको र सम्पूर्ण टिमले निकै मिहिनेत गरेको निर्देशक महर्जन बताउँछन्। उनी भन्छन्, “यो फिल्ममा एक्सन मात्र छैन। एक्सनसँगै फिल्मले नेपालको महत्वपूर्ण विषयलाई उठान गरेको छ। फिल्ममा एक्सन, ड्रामा, कमेडी, थ्रिलर सबै छ। यसमा हेर्नका लागि धेरै कुरा छन्। दर्शकलाई यसपटक धेरै सरप्राइज हुनेवाला छ। ट्रेलरमा सबै कुरा खोलिएको छैन।”
निर्देशक महर्जनले कथा कसैको जीवनसँग मेल नखाने दाबी गर्दै भने, “यो एउटा काल्पनिक कथा हो। पात्र ग्याङस्टरकै हो, तर यो बदला र न्यायको कथा हो। यसको कथावस्तु निकै गम्भीर छ।”
यता, फिल्मका निर्माता अमित अग्रहरि पनि सबैको सोच मिलेका कारण ‘आउटल: दफा २१९’ निर्माण भएको बताउँछन्। उनले भने, “हामीले एउटा यस्तो विषयवस्तु ल्याएका छौं, जुन भन्न आवश्यक थियो। एक्सनमा यो फिल्मले नेपाली सिनेमा क्षेत्रमा नयाँ बेन्चमार्क नै खडा गर्छ जस्तो लाग्छ। मैले पैसा सोचेर फिल्म बनाएको होइन, नयाँ भिजन र नयाँ विषयवस्तु भएकै कारण लगानी गरेको हुँ।”
उनले नेपालमा पछिल्लो समय बनिरहेका फिल्महरूभन्दा ‘आउटल: दफा २१९’ बिल्कुलै फरक रहेको दाबी गर्दै थपे, “हामीले एक्सन फिल्म त हेरेका छौं, तर त्यसमा ‘फिल’ नै आउन सकेको छैन। ‘आउटल’ ले त्यो महसुस गराउँछ। दर्शकहरूले निकै राम्रो प्रतिक्रिया दिनुभएको छ। यो नै हाम्रो सफलता हो। फिल्मले अर्को फिल्म बनाउनका लागि पैसा उठायो भने पनि म खुशी हुन्छु।”
फिल्मको मेकिङ, प्रस्तुति, एक्सन र कलाकारहरूको अभिनयले सर्वाधिक चर्चा पाइरहेको छ। नायक सुशील श्रेष्ठको नयाँ अवतारले दर्शकलाई सरप्राइज दिएको छ। यसैले, बक्स अफिसमा यो फिल्मले सुखद कमाइ गर्ने विश्वास लिइएको छ।