‘झिल्को’ टिजर सार्वजनिक : मोबाइलको लतले समाजमा पारेको असर चित्रण

0 Shares

‘झिल्को’ को टिजर सार्वजनिक गरिएको छ। झोला फेम्ड निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको यस फिल्मको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने प्रभावलाई उजागर गरेको छ।

टिजरमा विशेषगरी मोबाइलले बालबालिकामा पार्ने असरलाई चित्रण गरिएको छ। साथै, अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई पनि देखाइएको छ। मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा टिजरमा झल्किन्छ।

निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित फिल्महरू निर्देशन गर्दै आएका छन्। झोला मा सती प्रथा र भोर मा दाइजो प्रथाको कथा प्रस्तुत गरेझैं, झिल्को मा प्रविधिको सामाजिक विस्तार र त्यसले पार्ने प्रभावलाई विषयवस्तु बनाइएको छ।

फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहेको छ। दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर, र साउण्ड मिक्सिङ उत्तम न्यौपानेको रहेको छ।

झिल्को को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन्। फिल्ममा आनन्द अधिकारीको गीत, चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत, तथा शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर रहेको छ।

मिडिया फर कल्चर प्रा. लि. को प्रस्तुति र जनता टिभिको निर्माण सहकार्यमा बनेको झिल्को आगामी वैशाख १९ गते रिलिज हुँदैछ।

 

 

सम्बन्धित समाचार

सबै