देउडामा नाच्दै सकियो टीकापुर महोत्सव

0 Shares

सुदूरपश्चिमको संस्कृति र संगीतका कुरा गर्दा देउडा अनिवार्य रूपमा आउँछ। टीकापुर साहित्य महोत्सवको अन्तिम दिनको साँझ देउडामय भयो।

सुरुमा सुदूरपश्चिमको देउडा शीर्षकमा कलाकारहरू नन्दकृष्ण जोशी, रेखा जोशी, डिक्रा वादी र लक्ष्मी आचार्यले यस भेगको देउडा संस्कृतिबारे चर्चा गरे। छलफलपछि यी चर्चित गायक–गायिकाहरूले देउडा गाए। देउडा गायनले केहीबेर अघिसम्म मञ्चमा शान्त मुद्रामा बसेका स्रोताहरूलाई उठ्न बाध्य तुल्यायो। र, एकपछि अर्का स्रोता-दर्शक गाउन थाले, “झ्याम्म झ्याम्म”।

साँचो कुरा, महोत्सवको अन्तिम दिन पूरै सुदूरपश्चिम विशेष बन्यो। यसमा टीकापुरको विकास, अवसर र चुनौतीहरूदेखि थारु संस्कृतिका विभिन्न आयामबारे छलफल गरिएको थियो। पहलमानसिंह स्वाँरप्रति समर्पित महोत्सवमा स्वाँर र नेपाली नाट्य परम्पराबारे विशेष सत्र पनि भएको थियो। नाट्य विधामा स्वाँरको योगदानबारे सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति अम्मराज जोशी, व्रतराज आचार्य र धनञ्जय तिमिल्सिनाले प्रकाश पारे।

सभासद् ईश्वरी न्यौपाने, गरिमा शाह, गंगा चौधरी, रुपा चौधरी र कैलाश चौधरीले संघीय सरकारको नीतिमा सुदूरपश्चिमको विषयमा छलफल गरे।

महोत्सवमा गीत, गजल र कवितालाई विशेष स्थान दिइएको थियो। पहिलो दिनको काव्य सन्ध्या र दोस्रो दिनको गजल सन्ध्यामा युवा पुस्ताको उल्लेखनीय सहभागिता देखिन्थ्यो। महोत्सवमा उपन्यासमा पात्र निर्माण, यात्रा साहित्य, आख्यान र महिला लेखन, गैर आख्यानमा नवीन विषयवस्तु, आजका कविता लगायत नेपाली चलचित्र, महिला नेतृत्व, दलितका मुद्दा, भुइँबाट उठेका उद्यमीहरूको कथा र नेपाली नाटकका विषयमा चर्चा गरियो।

त्यस्तै, स्थानीय विषयवस्तुलाई पनि महोत्सवमा विशेष प्राथमिकता दिइएको थियो। जस्तो कि मलवारका उदाउँदा २० प्रतिभाहरूले गीत, कविता र गजल वाचन गरे। थारु संस्कृतिको आयाममा पनि छलफल भयो। नेपाली साहित्यमा सुदूरपश्चिमका नयाँ पुस्ताले विमर्श गरे। टीकापुरको विकास र अवसरबारे बहस गरियो। नेपाली नाट्य परम्परा, पहलमान सिंह स्वाँर, संघीय सरकारको नीतिमा सुदूरपश्चिम जस्ता विषयमा गहिरो विमर्श गरियो।

शनिबारदेखि सुरु भएको महोत्सवमा विज्ञहरूको धारणासमेत समेटिएको थियो। सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति टीएन जोशीले टीकापुर साहित्य महोत्सवलाई सांस्कृतिक जागरणको अभियानको रूपमा चित्रित गरे।

प्राध्यापक अभि सुवेदीले भने, “टीकापुर साहित्य महोत्सव टीकापुरमा प्राण हाल्ने र सृजनात्मक शक्ति आर्जन गर्ने प्रयास हो।” महोत्सवका संयोजक तथा अध्यक्ष, मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहले द्वन्द्वको विषम परिस्थितिका बीचमा टीकापुरमा साहित्य महोत्सवलाई निरन्तरता दिने कुरा बताए।

विद्वत प्रवचन दिँदै विश्लेषक हरि शर्माले संसदमा लोकतन्त्र महसुस गर्न नसकेको वर्तमान अवस्थामा यस्ता महोत्सवहरूले “मिनी लोकतन्त्र”को अभ्यास गर्ने अवसर दिएको विचार राखे। त्यस्तै, महोत्सवमा आख्यानकार नारायण ढकाल, केशव दाहाल, सरस्वती प्रतीक्षा, प्रगति राई, सगुना शाह लगायत पछिल्लो सम् पुस्ताका देवव्रत, कल्पना जोशी पनि बहसमा सहभागी भए।

लेखकहरू विन्दु सुवेदी, युवराज नयाँघरे, प्रतीक ढकाल, मोहन मैनाली, घनश्याम खड्का र अन्यले नेपाली गैर आख्यान र जीवन दर्शनबारे विचार विमर्श गरे। समालोचक लक्ष्मणप्रसाद गौतम, ज्ञानु अधिकारी, व्रतराज आचार्य, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति अम्मरराज जोशी तथा धनञ्जय तिमिल्सिनाले नेपाली साहित्यमाथि आलोचनात्मक विचार प्रस्तुत गरे।

मीन भाम, दीया मास्के, केकी अधिकारी, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, घिमिरे युवराज, शुशीला तामाङ लगायतले सिनेमा, नाटक र कलाका विविध विषयमा छलफल गरे।

महोत्सव संयोजक तथा अध्यक्ष महेशविक्रम शाहले भने, “टीकापुरलगायत देशभरका धेरै लेखक, कलाकार, विज्ञ, राजनीतिज्ञ र सर्वसाधारणको साथ सहयोगले महोत्सवको दोस्रो संस्करण भव्य बन्यो। यसले आगामी संस्करणलाई थप राम्रो बनाउन मेहनत गर्ने उर्जा थपेको छ।”

सम्बन्धित समाचार

सबै