‘महाभोज’ सिनेमाले आगामी जेठ १५ गते बिहीबार, गणतन्त्र दिवसको अवसरमा रिलिज हुने घोषणा गरेको छ ।
मङ्गलवार पहिलो पोस्टर सार्वजनिक गर्दै निर्माताले यस चलचित्रको रिलिज मिति तोकेका छन्। सो मितिमा नेपालसहित नेपालीहरू बसोबास गर्ने प्रायः सबै देशहरूमा एकसाथ रिलिज हुने जनाइएको छ।
रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा प्रमुख कलाकारहरूको गम्भीर र चुनौतीपूर्ण हाउभाउ छ। पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई सङ्केत गर्छ।
पोस्टरको केन्द्रमा टोपी लगाएका पुरुषलाई देख्न सकिन्छ, जो अभिनेता आर्यन सिग्देल हुन्, उनले राजनीतिक वा प्रशासनिक व्यक्तित्वको प्रतिनिधित्व गर्न सक्छन्। उनका वरिपरि अन्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन्, जसको अनुहारमा आक्रोश, पीडा, अन्याय र सङ्घर्षका भाव देखिन्छन्।
सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको ‘महाभोज’ चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्, यो उनको आठौँ चलचित्र हो। यसमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिका सहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ।
क्लक वर्क क्रियेशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका छन्। छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ।
मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन्।
साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ र आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ। काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन्।
