‘पिताम्बर’ तालीसिठ्ठी, हुटिङ आउने र तनाव भुलाएर दर्शकलाई मजा दिने सिनेमा -कृषा

0 Shares

निर्देशक कृषा चौलागाईंले पहिलो निर्देशकीय फिल्म ‘ऐँचो पैँचो’ पछि दोस्रो फिल्म ‘पिताम्बर’ लिएर आउँदैछिन्। ‘पिताम्बर’ चैत २९ गते प्रदर्शनमा आउने घोषणा भइसकेको छ।

कृषाले ‘पिताम्बर’को अवधारणा ‘ऐँचो पैँचो’भन्दा पहिल्यै बनाएकी थिइन्। तर, ‘पिताम्बर’ लार्ज स्केलको फिल्म भएकाले उनले पहिला सानो फर्म्याटको ‘ऐँचो पैँचो’ बनाउने निर्णय लिइन्।

“किनभने ‘ऐँचो पैँचो’ मेरो पहिलो निर्देशकीय फिल्म थियो, त्यसैले दर्शक र फिल्मकर्मीको प्रतिक्रिया कस्तो आउँछ भनेर बुझ्न चाहन्थें। सबैले फिल्मलाई रुचाइदिए, त्यसपछि मात्र ‘पिताम्बर’को स्क्रिप्ट तयार गर्न विभिन्न लेखकसँग छलफल गरें,” कृषाले भनिन्।

कृषाले ‘पिताम्बर’लाई भरपूर एक्सन फिल्मको रूपमा परिभाषित गरेकी छन्। पछिल्लो समय एक्सन फिल्म कम बनेको अवस्थामा दर्शकलाई केही नयाँ दिने सोच उनको छ।

“एक्सन फिल्म बनाउन समय र खर्च धेरै लाग्छ, जसले गर्दा धेरै फिल्मकर्मी यसमा हात हाल्न चाहँदैनन्। प्रदीप खड्काका लागि पनि यो फिल्म नयाँ अनुभव हुनेछ। दर्शकले उनलाई पूर्ण रूपमा एक्सन अवतारमा हेर्न पाउनेछन्,” उनले भनिन्।

कृषाले किन एक्सन फिल्मलाई प्राथमिकता दिइन्? धेरैलाई चासो लाग्न सक्छ।

“लामो समयदेखि फिल्महरू एउटा विशेष विषयमा मात्र केन्द्रित भइरहेका थिए। कतिपयले स्थानीय कथालाई प्राथमिकता दिनुपर्छ भन्छन्, तर मैले एउटा यस्तो फिल्म बनाउने चाहना राखेकी थिएँ, जुन कल्पनाभन्दा परको होस्, जसमा मेकर पूर्ण रूपमा स्वतन्त्र होस्। ‘पिताम्बर’ त्यही प्रयास हो,” कृषाले भनिन्।

कृषा ‘पिताम्बर’लाई फरक कथाको फिल्म भन्दिनन्। तर, फिल्म हेरेपछि दर्शकले मनोरञ्जनको अनुभूति लिएर फर्कने दाबी गर्छिन्।

“अहिले ताली र सिठी बज्ने, हुटिङ आउने फिल्म कमै बनेका छन्। ‘पिताम्बर’ हेरेपछि दर्शकले तनाव भुलेर मजा लिएर फर्कनेछन्,” उनले भनिन्।

कृषाले दर्शकलाई उत्कृष्ट सिनेमेटिक अनुभव दिन नेपालमै पहिलो पटक तीनवटा क्यामराले फिल्म सुट गरिएको जानकारी दिइन्।

“हामीले नेपालमा कहिल्यै प्रयोग नगरिएका प्रविधिहरू ल्याएका छौं। दर्शकले टिकटको मूल्य पूरा गम्भीरतासँग महसुस गर्न पाउनेछन्,” उनले भनिन्।

कृषाले ‘पिताम्बर’को कथा लेख्दै गर्दा अभिनेता प्रदीप खड्कालाई नै केन्द्रमा राखेकी थिइन्। “हाम्रो कथा नै स्टारबाट सुरु हुन्छ। त्यसैले दर्शकको मनमा बसेका र राम्रो अभिनय गर्ने कलाकारलाई प्राथमिकता दियौं,” उनले बताइन्।

कृषाले प्रदीपलाई फरक लुक्समा प्रस्तुत गर्न चाहिन्। “मलाई अलिकति आर्यन लुक्स, हल्का दाह्रीजुँगा भएको र उत्कृष्ट अभिनय गर्न सक्ने कलाकार चाहिएको थियो। प्रदीपमा ती गुण भेटेपछि उनलाई प्राथमिकता दिइयो,” कृषाले भनिन्।

उनका अनुसार प्रदीपलाई एक्सन फिल्मको तयारीका लागि विशेष कोचिङ गराइएको थियो।

“एक्सन फिल्म भन्नासाथ ‘सिक्स प्याक’ हुनैपर्छ भन्ने होइन। तर, कुनै मान्छेले अन्याय सहन सकेन भने, सिक्स प्याक नभएर के हुन्छ? उसको रगत त तत्छ। प्रदीपलाई मैले फाइटमा आफूलाई आक्रामक बनाउन फाइट ट्रेनिङ लिन सुझाव दिएँ,” उनले भनिन्।

May be an image of 5 people, television and text that says 'D. Inspector ctor Rai'

‘पिताम्बर’को छायांकन मुख्य रूपमा तराईमा गरिएको छ। “ह्युमन इमोसनको कथा देखाउन लोकेसनले खासै फरक पार्दैन। तर, बोर्डर नजिक हुँदा प्राविधिक सहयोग सहज हुने भएकाले तराई रोजिएको हो,” कृषाले बताइन्।

उनको मनपर्ने विधा नै एक्सन भएकाले ‘पिताम्बर’ निर्माणले उनीभित्रको जोशलाई थप बल दिएको छ। “एक्सन फिल्मको जोश, जाँगर र क्यानभास अन्य विधाभन्दा फरक हुन्छ। त्यसैले एक्सनप्रति मेरो झुकाव रहँदै आएको हो,” उनले भनिन्।

टिजर र गीतबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै उनले अब छिट्टै ट्रेलर रिलिज गर्ने तयारी गरिरहेको जनाइन्। “दर्शकले ट्रेलर हेरेपछि ‘यो फिल्म हेर्छु’ भन्ने निर्णय लिनुहुन्छ भन्नेमा म ढुक्क छु,” कृषाले भनिन्।

शूटिङको समयमा सबै कलाकारको समय मिलाउनु ठूलो चुनौती रहेको बताउँदै उनले भनिन्, “फिल्मको हरेक एक्सन सिक्वेन्समा म आफैं उपस्थित थिएँ। तीनवटा प्रमुख पात्रलाई एउटै दृश्यमा राख्न गाह्रो भयो। कलाकारहरूले दिनुपर्ने परफर्मेन्सको मापदण्ड पनि ठूलो थियो। तर, अन्ततः ‘पिताम्बर’ मैले चाहेको रूपमा तयार भएको छ।”

सम्बन्धित समाचार

सबै