
होलीको दिन पार्दै बिहीबार रिलिज हुन लागेको नेपाली सिनेमा ‘अञ्जिला’ को अग्रिम बुकिङ सुरु भएको छ।
सोमबार काठमाडौंमा सम्पन्न प्रिमियरमा प्राप्त व्यापक सकारात्मक प्रतिक्रियापछि सिनेमा हलहरू उत्साहित देखिएका छन्। अघिल्लो हप्ता रिलिज भई सफल प्रदर्शन भइरहेको ‘होस्टेल ३’ तथा सँगै रिलिज हुने अन्य सिनेमाहरूका बाबजुद पनि हलहरूले राम्रो सङ्ख्यामा शो उपलब्ध गराएका छन्।
बुधबार बिहानसम्म ११० भन्दा बढी शो प्राप्त गरिसकेको ‘अञ्जिला’ ले साँझसम्म थप शोहरू पाउने अनुमान गरिएको निर्देशक मिलन चाम्सले बताए। “प्रिमियरमा दर्शकले देखाएको उत्साह र प्रशंसा हेर्दा हामी निकै सकारात्मक छौँ,” निर्देशक चाम्सले भने, “शो सङ्ख्या भन्दा पनि प्राप्त शोहरूमा दर्शकको उपस्थिति र प्रतिक्रिया प्रमुख कुरा हो।” ‘अञ्जिला’ लाई मल्टिप्लेक्स मात्र नभई सिंगल स्क्रिन हलहरूबाट पनि राम्रो शो प्राप्त भएको उनले बताए। रिलिजको दिन फागुपूर्णिमा परेका कारण अधिकांश हलहरू दिउँसोदेखि मात्र सञ्चालन हुने भएकाले शुक्रबारदेखि शो सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ।
सिनेमाले एञ्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरेको छ। मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन् भने अन्य कलाकारहरूमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत छन्। सिनेमाको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको हो।
निर्देशक चाम्सले नेपाली स्रोत र साधनको अधिकतम उपयोग गर्दै खेलकुदमा आधारित सिनेमा निर्माण गर्नु चुनौतीपूर्ण भए पनि ‘अञ्जिला’ ले फरक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई सिनेमाले प्रेरित गर्ने आशा व्यक्त गर्दै, एञ्जिलाको सङ्घर्षको कथा सिनेमाको पटकथाभन्दा कम नभएको बताए।
सिनेमाको हङकङ, कोरिया, बेलायत, अमेरिका, अस्ट्रेलिया, जापान तथा नेपालमा धरान र काठमाडौंमा प्रिमियर गरिएको थियो। हलमा प्रदर्शनअघि नै प्रिमियर शोहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिसकेको ‘अञ्जिला’ ले हलमा हेर्ने दर्शकहरूबाट पनि उत्साहजनक समर्थन पाउने अपेक्षा गरिएको छ।