आगामी चैत्र २२ गते रिलिज हुने यस वर्षको प्रतिक्षित सिनेमामध्ये एक ‘वसन्त’को गीत ‘बिना स्वादैको’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ।
सिनेमाको रिलिजभन्दा १० दिनअघि सार्वजनिक गरिएको यो गीत युट्युब ट्रेन्डिङअन्तर्गत म्युजिक सेक्सनको शीर्ष स्थानमा पुगेको हो।
यो समाचार तयार पार्दासम्म गीतले १२ लाख २७ हजार भ्युज, ४२ हजार लाइक, तथा १ हजार ८ सयभन्दा बढी प्रतिक्रिया पाइसकेको छ। गीतमा फरकपन साथै बागलुङ र आसपासका जिल्लाको मौलिकता देखाइएको भन्दै कमेन्ट बक्समा प्रशंसाको ओइरो लागेको छ। अधिकांश दर्शकले गीतको प्रशंसा गरेका छन्।
गीतको कमेन्ट बक्समा गोविन्द पौडेल नामक दर्शकले लेखेका छन्, “गीतको नाम ‘बिना स्वादैको’ भए पनि गीत र भिडियो निकै स्वादिलो छ। अहिलेसम्मकै उत्कृष्ट! सिङ्गार, पहिरन, पुरानो साँझ्री बस्ने रीतिसँग जोडिएको छ। म सानोमा बिरामी हुँदा यसरी झाँक्री बसेर रातो भाले र कालो बाख्रो काटेको सम्झना ताजा भयो। प्रकाश जी, बब्लु जी, सुनिल जीलगायत सम्पूर्ण टिमलाई बधाई छ। सिनेमाका लागि शुभकामना।”
गीतमा गायक देवेन्द्र बब्लु (दि फिरन्ते) को स्वर तथा परिकल्पना रहेको छ भने संगीत गायक तथा निर्देशक प्रकाश सपुत र देवेन्द्र बब्लुले दिएका छन्। संगीत संयोजन योगेश काजी शाहले गरेका छन्। हरर-रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा एक जोडीको अन्तरजातीय प्रेमपछिको परिस्थितिलाई देखाइएको छ, जहाँ परिवारले उनीहरूको मोहनी फुकाउन विभिन्न प्रयास गर्छ।
सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार प्रभात पाल ठकुरी, श्रीशिभान्सी, गायक देवेन्द्र बब्लु, मुख्य सहायक निर्देशक सुनिल विक, र कलाकार विशाल पहारी प्रस्तुत छन्। सिनेमामा प्रभात र श्रीशिभान्सीसँगै प्रकाश सपुत, स्वस्तिमा खड्का, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत स्वयं निर्देशक सपुतले तयार पारेका छन्। सिनेमाले विपन्न विश्वकर्मा समुदायको एक युवकको लेखक बन्ने सपना र त्यसलाई हासिल गर्न गरेको संघर्षको कथा प्रस्तुत गर्छ।
सिनेमाका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा रहेका छन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली, र विरेन्द्र नारायण श्रेष्ठ छन्।
गायक तथा निर्देशक प्रकाश सपुतको जन्मथलो बागलुङ, काठमाडौं, र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। उनको डेब्यु निर्देशन रहेको यो सिनेमालाई छायाँकार सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा एफडी कम्पनी ले सिनेमाको वितरण गर्नेछन्।