
“चैत्र १ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘राजागंज’ को हिजो बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शो आयोजना गरिएको थियो।
प्रिमियर शोमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, महिला नेतृ हिसिला यमी, प्रतिनिधिसभा सांसद अमरेश कुमार सिंह, निर्देशक नवीन सुब्बा, लेखक तथा निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मा, लुनिभा तुलाधर, शिल्पा मास्के, अभिनेता नाजिर हुसेन, सिनेमाको निर्माण टिम, कलाकारहरू तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
सिनेमा हेरेर निस्कँदै गर्दा प्रिमियर शोमा उपस्थित पाहुनाहरूले ‘राजागंज’ उत्कृष्ट बनेको प्रतिक्रिया दिए। यस सिनेमाले मधेश आन्दोलनको क्रममा मधेशी र पहाडी समुदायबीच घटित विभिन्न घटनाक्रमलाई सूक्ष्म रूपमा प्रस्तुत गरेको प्रतिक्रिया प्राप्त भएको थियो। विश्वका प्रतिष्ठित सिनेमा महोत्सवहरूमा प्रदर्शन भइसकेको यो सिनेमा नेपाली दर्शकमाझ आउनुअघि नै सकारात्मक प्रतिक्रिया पाएको हुँदा यसको व्यापारमा पनि फाइदा पुग्ने विश्वास निर्माण टिमलाई छ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘राजागंज’ मधेश आन्दोलनको सेरोफेरोमा निर्माण भएको बताउँदै आफू त्यसको प्रत्यक्ष साक्षी भएकाले सिनेमा निकै वस्तुपरक र तथ्यपरक बनेको प्रतिक्रिया दिए। उनले भने, “मलाई दुःख लागेको कुरा के हो भने, जुन सिनेमा हामीले हे¥यौं, त्यसका केही महत्त्वपूर्ण अंशहरू काटिएको सुनेँ। अब कति काटियो, त्यो त मलाई थाहा छैन, तर यदि मुख्य अंश नै काटिएको हो भने, त्यो त सिनेमाको ‘काँध’ नै काटिएझैँ हुन्छ।”
महिला नेतृ हिसिला यमीले ‘राजागंज’ उत्कृष्ट बनेको बताइन्। उनले भनिन्, “यस सिनेमामा दयाहाङ राईले जनजातिको भूमिकामा अभिनय गरेका छन् भने अर्को पात्र आर्य समुदायको छ। यी सबै पात्रहरूले समग्रमा एक संवेदनशील विषय उठाएका छन्। एउटा उत्पीडन, आमाले बच्चा पाउने अधिकारमाथिको हस्तक्षेप, अनि जन्मिनुअघि नै गर्भमा रहेको बच्चाको ‘कर्ड’ काटिएको घटनाले गहिरो सन्देश दिन्छ। ठ्याक्कै त्यस्तै, यदि कसैले सिनेमाको महत्त्वपूर्ण दृश्यहरू सेन्सर गर्छ भने, त्यो बच्चा जन्मन नपाउँदै मारिएझैँ हुन्छ। त्यसैले, ‘राजागंज’ जस्तो सिनेमाको कुनै पनि दृश्य नकाटी प्रदर्शन गरिनुपर्छ।”
अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्माले पनि सिनेमा उत्कृष्ट बनेको भन्दै सबै नेपाली सिनेमा प्रेमी दर्शकलाई ‘राजागंज’ हेर्ने सिफारिस गरे। अभिनेत्री लुनिभा तुलाधरले भने, “हिरो पुरुष मात्रै हुँदैन। उमेर वा रंगले केही फरक पार्दैन। यो एक उत्कृष्ट सिनेमा भएकाले निर्धक्क हलमा गएर हेर्न आग्रह गर्छु।”
अभिनेता नाजिर हुसेनले मधेश आन्दोलनको कथा उत्कृष्ट रहेको बताउँदै भने, “मधेशी र पहाडी समुदायबीच मात्रै होइन, मधेशीहरूमाझ पनि विभेद छ। यस्ता कुराहरू अन्त्य गर्न आवश्यक छ। ‘राजागंज’ ले यस्ता विषयलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ, त्यसैले यो सिनेमा हेर्नैपर्छ।”
सिनेमाका मुख्य अभिनेता दयाहाङ राईले भने, “यस सिनेमामा विभिन्न तहका कथाहरू समेटिएका छन्। आज हेर्ने सबैले राम्रो प्रतिक्रिया दिएका छन्। भोली शुक्रबारबाट रिलिज हुँदैछ, आशा छ, दर्शकलाई पनि मन पर्नेछ।”
मुख्य अभिनेत्री आशा मगरातीले भने, “म प्रिमियर शोमा सिनेमा हेर्नुभन्दा पनि दर्शकको प्रतिक्रिया हेरिरहेको थिएँ। केही दृश्यहरूमा दर्शक हाँसेको देख्दा निकै खुसी लाग्यो।”
निर्देशक दीपक रौनियारले भने, “सिनेमाले सेन्सरका कारण केही समस्या बेहोरे पनि, प्रिमियर शोमा पाएको सकारात्मक प्रतिक्रियाले खुसी दिएको छ। मैले देखाउन खोजेको सबै कुरा दर्शकलाई शुक्रबारबाट देखाउन नपाउनु दुःखद् छ। तर, जति देखाउन सकेका छौं, त्यति नै दर्शकलाई मन पर्नेछ भन्ने अपेक्षा छ।”