हेर्नुस् ‘कर्मा’मा कस्तो देखिदैंछन् मुकुन भुसाल

0 Shares

सिनेमा ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक सार्वजनिक भएको छ। निर्माण पक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक सार्वजनिक गरेको हो।

तिलचामले कपाल र दारी-जुँगामा ठाँटिएका मुकुन ड्याण्डी देखिएका छन्। कोट र टाइमा देखिएका उनी एंग्री लुकमा छन्। उनको हेराइले बदलाको चरणमा रहेको संकेत गर्छ।

उनको यो लुकले उनी खलपात्रको रूपमा सिनेमामा रहेको प्रष्ट पार्छ। ग्रे जोनमा बस्ने खलपात्र हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ।

होलीको अवसरमा क्यारेक्टर लुक सार्वजनिक भएकाले यो शुभकामना हो वा सिनेमामै होलीको दृश्य छ भन्ने कुरा निर्माण पक्षले प्रष्ट पारेको छैन। तर, तराईमा सिनेमा खिचिएकाले होलीको दृश्य हुन सक्ने सामान्य अनुमान गर्न सकिन्छ।

यसअघि निर्माण पक्षले उपासना सिंह ठकुरीको लुक पनि सार्वजनिक गरेको थियो, जहाँ उनी कुर्था-सुरुवालमा देखिएकी थिइन्।

‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन्। ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको छ।

सिनेमा ‘कर्मा’ चैत २९ गते रिलिज हुँदैछ। नेपाल र विदेशमा यो सिनेमा एकसाथ प्रदर्शन हुनेछ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ विपीनको पहिलो एक्सन सिनेमा हो। ‘कर्मा’मा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव लगायतका कलाकारको अभिनय रहेको छ।

एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्।

‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

केही समयअघि सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएको थियो। ओभरसिज मार्केटमा पनि ‘कर्मा’प्रति चासो रहेको सेभेन सिज सिनेमाले बताएको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ।

निर्देशक चौधरीको ‘अगस्त्य: च्याप्टर १’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

निर्माण पक्षले ‘कर्मा’को टिजर भोलि (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ।

सम्बन्धित समाचार

सबै