लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठले ठूलो पर्दाको सिनेमामा डेब्यु गर्ने भएका छन्।
रङ्गहरूको पर्व होलीको अवसरमा उनका लेखन र निर्देशनमा निर्माण हुने चलचित्र ‘कुम्भ’ को औपचारिक घोषणा गरिएको छ।
एक्सन जनरामा बन्ने चलचित्र ‘कुम्भ’ को फर्स्ट लुक पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक फर्स्ट लुकमा चलचित्रका चार मुख्य पात्रलाई स्थान दिइएको छ, जसमा एक जना मुख्य पात्र घोडामा सवार छन्।
नवनायक अशोक आर्यन, प्रख्यात अभिनेता सुनिल थापा, प्रख्यात अभिनेता सुशील पोखरेल, अफ्सना थापा, र रोहित रुम्बा चलचित्रमा अनुबन्धित भइ सकेका छन्। चलचित्रका लागि मुख्य नायिकाको खोजी भइरहेको निर्माण टिमले जानकारी दिएको छ। चलचित्र चैतको दोस्रो साता देखि फ्लोरमा जाने तयारीमा रहेको छ। रन्धिर श्रेष्ठकै छायांकन रहने यस चलचित्रमा द्वन्द सम्राट बस्नेतको पनि सहभागिता रहनेछ। रन्धिर श्रेष्ठ र राजेश साह निर्माता रहेको यस चलचित्रको सह निर्माता ध्रुवराज पराजुली छन्, र इश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्।
