‘आउटल’ हेरेपछि दर्शक प्रतिक्रिया – ‘एक्सन बबाल छ’

0 Shares

बिहीबारबाट रिलिजमा आएको फिल्म ‘आउटलः दफा २१९’ ले दर्शकको सुखद प्रतिक्रिया पाएको छ। बिहीबार दिनभर काठमाडौंका विभिन्न हलमा पुगेका फिल्मका कलाकारहरूले दर्शकसँग साक्षात्कार गरे।

फिल्मका मुख्य नायक सुशील श्रेष्ठ, निर्माता अमित अग्रहरी, निर्देशक विक्की महर्जन, र सम्पादक साहिल खान दिनभर हल–हलमा पुगेका थिए।

फिल्म हेर्नका लागि युवापुस्ताका दर्शकहरूको चाप हलमा बढी देखिएको थियो। फिल्म हेरेपछि अधिकांश दर्शकले यसको एक्सनको खुलेरै तारिफ गरे। फिल्म हेरेर निस्किएकी एक युवतीले नायक सुशील श्रेष्ठको कामको तारिफ गर्दै भनिन्, “सायद, यस्तो एक्सन नेपालमा अहिलेसम्म बनेको थिएन होला। यस्तो फिल्म आएपछि हामीले बलिउड र साउथको फिल्म पनि हेर्नुपर्दैन। कथावस्तु पनि राम्रो छ।”

काठमाडौं बाहिरका दर्शकहरूले पनि फिल्म हेरेर उत्कृष्ट प्रतिक्रिया दिएका छन्। फिल्मको कथावस्तुले महिलाको कथा उठाएको छ। साथमा, फिल्मको सस्पेन्स पाटो पनि गज्जब छ।

फिल्म हेर्न हल पुगेका कलाकार गजित बिष्टले भने, “सुरुवातको १० मिनेट फिल्म केही स्लो छ। त्यसपछि फिल्मले आफ्नो पकड मजबुत तरिकाले जमाएको छ। एक्सन त गज्जब नै छ। एक्सन मन पराउने दर्शकका लागि यो फिल्म विशेष हुनसक्छ।”

दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएपछि नायक सुशील श्रेष्ठ पनि उत्साहित देखिए। उनले भने, “मैले ४ वर्ष एउटा उत्कृष्ट फिल्ममा काम गर्छु भनेर नै अफर आएका थुप्रै फिल्म छाडेको हुँ। आज दर्शकहरूले दिनुभएको मायाले उत्साहित छु।”

फिल्मका निर्देशक विक्की महर्जनले पनि २ वर्ष लगाएर आफूहरूले गरेको मिहिनेतमा दर्शकहरूले साथ दिएको भन्दै खुशी व्यक्त गरे।

सम्बन्धित समाचार

सबै