‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक

0 Shares

गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशन सिनेम ‘वसन्त’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। हिजो बिहीबार फागु पूर्णिमा अर्थात् होलीको अवसरमा सिनेमाका मुख्य दुई कलाकार, गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का, को चित्रित पोस्टर सार्वजनिक गरिएको हो।

सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकाश र स्वस्तिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन्।

सिनेमाको पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता सपुतले लेखेका छन्, “जसरी प्रकृतिका विभिन्न रंगहरू समेटेर बसन्त ऋतु आएको छ, त्यसैगरी समाजका विभिन्न रंगहरू समेटेर सिनेम ‘वसन्त’ तयार भएको छ। ती रंगहरू मध्ये सबैभन्दा सुन्दर रंग हो प्रेमको रंग। ‘वसन्त’ एउटा सुन्दर प्रेमको रंगले बनेको छ। बसन्त ऋतुमा फुल्ने लालीगुँरास जस्तै रंगीन पर्व फागु पर्वको शुभकामना।”

चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका छन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले प्रस्तुत गर्ने छ। सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा, तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र बिरेन्द्र नारायण श्रेष्ठ छन्।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानहरूमा सिनेमाको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका छन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमालाई वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै