किन रिलिज गरियो ‘अञ्जिला’को ‘रात किन हुन्छ हजुर’ गीत ?

0 Shares

बिहीबारदेखि प्रदर्शनमा आएर व्यापक चर्चा र प्रशंसा पाइरहेको सिनेमा ‘अञ्जिला’ को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक गरिएको छ। पीडायुक्त शब्दहरूले भरिएको यस गीतले सिनेमाकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवनगाथाका केही अंशहरू बयान गरेको छ।

यस गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ भने थानेश्वरकै सङ्गीत र प्रभा बर्तौलाको शब्दरचना रहेको छ। यस गीतको संक्षिप्त अंश सिनेमामै सुन्न सकिन्छ। सिनेमाका निर्देशक मिलन चाम्सका अनुसार दर्शकहरूबाट व्यापक माग आएपछि गीतलाई पूर्ण रूपमा सार्वजनिक गरिएको हो।

फागु पूर्णिमाको अवसर पारेर बिहीबार रिलिज भएको ‘अञ्जिला’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। पहिलो शोदेखि नै दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको यस सिनेमाले हेर्नेहरूलाई भावविह्वल बनाएको छ।

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित सिनेमा हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन्। यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ। सिनेमामा एन्जिलासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

हाल सोसल मिडियामा ‘अञ्जिला’ को प्रशंसा गर्दै दर्शकहरू रोइरहेको भिडियो क्लिपहरू भाइरल भइरहेका छन्।

सम्बन्धित समाचार

सबै