‘आउटलः दफा २१९’मा यस कारण सुशील बटुलिरहेछन् तारिफ नै तारिफ

0 Shares

बिहीबारदेखि प्रदर्शनमा आएको सिनेमा आउटलः दफा २१९ हलमा राम्रो दर्शक तानिरहेको छ। शनिबार पनि सिनेमालाई हेर्न दर्शकहरूको उल्लेखनीय चाप देखियो। काठमाडौंका हलहरूमा दर्शकको उच्च उपस्थिति देखिएपछि कलाकार तथा निर्माण टोली विभिन्न हलहरूमा पुगे।

नयाँ टिम, नयाँ निर्माता, साथै केही अनुभवी र केही नयाँ कलाकारहरूको सहभागितामा बनेको यस सिनेमाको निर्माण शैली (मेकिङ) र एक्सनको चौतर्फी प्रशंसा भइरहेको छ।

हलबाट निस्किएका दर्शकहरूले सिनेमाको मेकिङ र एक्सनलाई हलिउड र बलिउडका थुप्रै सिनेमासँग तुलना गरेका छन्।

४ वर्षपछि नायक सुशील श्रेष्ठले ठूलो पर्दामा कमब्याक गरेका छन्। उनको पुनरागमन (कमब्याक) कस्तो हुनेछ भन्ने धेरैलाई कौतूहल थियो। तर, अहिले सुशीलले सबैको तारिफ बटुलिरहेका छन्।

सामाजिक सञ्जालमा पनि सिनेमा हेरेर फर्किएका दर्शक, फिल्मकर्मी र पत्रकारहरूले सुशीलको अभिनय र मिहिनेतको प्रशंसा गरिरहेका छन्।

सिनेमाको क्लाइमेक्समा रहेको चेजिङ दृश्यले धेरैको ध्यान तानेको छ। नेपालमा यस किसिमको दृश्य यसअघि नहेरेको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।

हलमा पुगेका सुशीललाई दर्शकहरूले उत्साहजनक साथ दिएका छन्। सुशीलले पनि अब निरन्तर अभिनय यात्रालाई अघि बढाउने बताएका छन्। आफूहरूले गरेको मिहिनेतको प्रतिफल पाएको अनुभूति उनले गरेका छन्।

काठमाडौंमा आयोजित प्रेस शोमा उपस्थित अधिकांश पत्रकार र कलाकारहरूले पनि सिनेमाको मुक्तकण्ठले प्रशंसा गरे। निर्माता अमित अग्रहरिका अनुसार शनिबारसम्म सिनेमाले राम्रो दर्शक उपस्थिति पाइरहेको छ।

सम्बन्धित समाचार

सबै