दोस्रो शनिबार पनि आक्रामक रह्यो ‘होस्टेल ३’ व्यापार, रिलिज गर्‍यो नयाँ गीत ‘रक अन’

0 Shares

गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र होस्टेल ३ को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक गरिएको छ।

चलचित्रको अन्त्यमा राखिएको यस गीतको व्यापक माग भएपछि इन्टरनेटमा रिलिज गरिएको हो, निर्देशक सशान कँडेल ले बताए।

यस गीतमा ‘होस्टेल ३’ का प्रमुख कलाकारहरू पारस बम (कुलब्वाय) र रिहान गिरी को साथमा समीर काजी को स्वर रहेको छ, भने महेश ज्ञवाली का शब्द र सङ्गीत रहेका छन्। योगेश काजी ले गीतको एरेन्जमेन्ट गरेका छन्।

‘होस्टेल ३’ ले पहिलो हप्ता नेपालमा मात्र ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो। यो चलचित्र हाल नेपाल बाहिर मध्यपूर्व, अस्ट्रेलिया लगायतका देशहरूमा पनि प्रदर्शन भइरहेको छ, र नेपालीहरूको बसोबास रहने प्राय: सबै देशहरूमा रिलिज हुने निर्देशक कँडेलले बताए। इमिरेट्स, बहराइन, कतार, र अस्ट्रेलिया जस्ता देशहरूबाट पनि यसको व्यापारको चर्चा आइरहेको छ।

गत बिहीबार रिलिज भएयता होस्टेल ३ को व्यापारको रफ्तार आश्चर्यजनक देखिएको छ। दोस्रो हप्ताको शनिबार पनि चलचित्रको व्यापारमा कुनै कमी आएको छैन, निर्देशक कँडेलले बताए। “हामी निरन्तर हल भिजिटमा छौँ र वितरकबाट पनि व्यापार रिपोर्ट लिइरहेका छौँ। दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ। दोस्रो शनिबार त झनै व्यापक माहौल देखियो,” कँडेलले भने।

यस चलचित्रमा पारस बम (कुलब्वाय), सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। प्रवीण खतिवडा ले वार्डेनको भूमिका निभाएका छन्। आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान, र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन्।

यस चलचित्रको पटकथा तथा संवाद लेखन र एसोसियट निर्देशन माधव शर्माले गरेका छन्। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, र गणेश मगर रहेका छन्। शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्यूसर हुन्।

 

सम्बन्धित समाचार

सबै