‘रिल’का लागि ‘रियल’मै किन कुटाइ खाए सुशीलले?

0 Shares

नायक सुशील श्रेष्ठले सिनेमा ‘आउटलः दफा २१९’ का लागि रियल कुटाइ खाएको भन्दै एक भिडियो र केही तस्वीर सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक गर्दै उनले मेकरले “रियल नगरौँ” भने तापनि, “फिल आउँछ भने रियल नै गरौँ” भनेर आफूले दृश्य दिएको बताएका छन्।

उनले लेखेका छन् – “म अझै सम्झन्छु, जब हामी यो दृश्य सुट गर्दै थियौँ, निर्देशकले बारम्बार भनेका थिए, ‘रियल नगरौँ।’ तर, मैले भनेको थिएँ, यदि यो दृश्यलाई म सकेसम्म वास्तविक बनाउन सकें भने दर्शकहरूले यसलाई अझ गहिरोसँग महसुस गर्नेछन्।”

उनले यो सिनेमा आफ्नो टिमले दिनरात नभनी मेहनत गरेर तयार गरेको पनि सुनाएका छन्। साथै, हरेक दृश्यलाई उत्कृष्ट बनाउनका लागि निकै मिहिनेत गरिएको समेत उनले स्मरण गरेका छन्।

उनले लेखेका छन् – “हाम्रो सपना थियो, संवेदनशील विषय उठाएर नेपाली एक्सन सिनेमालाई नयाँ उचाइमा पुर्याउने।”

सुशीलले सिनेमा नहेरेका दर्शकलाई हेर्न आग्रह गर्दै, हेरेका दर्शकलाई सामाजिक सञ्जालमा प्रतिक्रिया बाँड्न अनुरोध गरेका छन्।

बिहीबारबाट प्रदर्शनमा आएको यो सिनेमाले दर्शकको राम्रो साथ पाइरहेको छ। सिनेमाको एक्सन, कथावस्तु र मेकिङलाई दर्शकले मनपराएका छन्। सिनेमाले न्यायको पक्षमा आवाज उठाएको छ, जसलाई दर्शकहरूले मुक्तकण्ठले प्रशंसा गरेका छन्।

विक्की महर्जनको निर्देशनमा तयार भएको यस सिनेमामा अमित अग्रहरिको लगानी छ।

 

 

सम्बन्धित समाचार

सबै