
फागुन २९ गतेदेखि प्रदर्शनमा आएको ‘अञ्जिला’ हेर्न विभिन्न विद्यालयका विद्यार्थीहरू हल पुगेका छन्। नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यस सिनेमा प्रेरणादायी भएकाले विद्यालयहरूले आफ्ना विद्यार्थीलाई हेर्न लगाएको जनाएका छन्।
सोमबार दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युएफएक्स हलमा डाफोडिल बोर्डिङ स्कुल र डाफोडिल पब्लिक स्कुलका ३६० विद्यार्थीले सिनेमा हेरे। यस्तै, रिलिजको दोस्रो दिनदेखि देशभरका विभिन्न सहरमा समेत विद्यालयहरूले आफ्ना विद्यार्थीलाई यो सिनेमा देखाइरहेका छन् भन्ने कुरा निर्देशक मिलन चाम्सले बताएका छन्।
‘अञ्जिला’ हेर्न कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई विद्यालयहरूले पठाइरहेका छन्। डाफोडिल स्कुलका अरविन्द कुमार मण्डलका अनुसार विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले सिनेमा देखाइएको हो। “यो सिनेमा हेरेर विद्यार्थीहरूले ‘नेभर गिभ अप’ भन्ने सन्देश बुझेका छन्। मैले आफैंले हेर्दा पनि मनोरञ्जनसँगै कप्तान सुब्बाको जीवन बुझ्ने अवसर पाएँ,” उनले भने।
विद्यालयहरूका अनुसार ‘अञ्जिला’ले सङ्घर्ष, निरन्तरता, र सफलताको महत्त्व बुझाउने भएकाले अकादमिक हिसाबले विद्यार्थीहरूलाई देखाइएको हो। निर्देशक चाम्सले “सङ्घर्षले प्राप्त गरेको सफलता दीर्घायु हुन्छ” भन्ने सन्देश बोकेको यस सिनेमा विद्यालयहरूमार्फत विद्यार्थीहरूसम्म पुर्याउन आग्रह गरेका छन्।
सिनेमाका निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठका अनुसार ‘अञ्जिला’ले जीवनमा अघि बढ्न प्रेरणा दिन्छ। साथै, उनले सिनेमा प्रदर्शनबाट सङ्कलित सम्पूर्ण मुनाफा कप्तान सुब्बाको घर निर्माणका लागि प्रयोग गरिने बताएका छन्।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित सिनेमा हो, जसमा अञ्जिलाले आफैं प्रमुख भूमिका निर्वाह गरेकी छन्। यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ। सिनेमामा अञ्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।
‘अञ्जिला’ले प्रदर्शनको पहिलो तीन दिनमै २ करोड ७ लाख ग्रस कलेक्सन गरेको जनाइएको छ।