क्लासिक डाइमन्डले ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको घोषणा 

0 Shares

नेपालको प्रसिद्ध हीरा ब्रान्ड क्लासिक डाइमन्डले ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको घोषणा गरेको छ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले प्रतियोगिता आगामी माघ ४ र ५ गते काठमाडौंमा हुने जानकारी दिए।

महर्जनका अनुसार प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउनेछन्। साथै, विजेताले बलिउडमा आफ्नो प्रस्तुति दिने अवसर समेत प्राप्त गर्नेछन्।

प्रतियोगिताका लागि बिहीबारदेखि नै रजिस्ट्रेशन खुला गरिएको छ।

महर्जनले विगतका विजेताहरूको बारेमा जानकारी गराउँदै भने, ‘साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्यू योर्क फेशन सप्ताहमा, र मुना गौचनले बलिउडमा आफूलाई स्थापित गरिसकेकी छन्’, उनले भने, ‘क्लासिक डाइमन्ड गहनासँग सम्बन्धित भएकाले हामीले यो कार्यक्रमबाट नेपालको फेशन र मोडलिङ क्षेत्रलाई पनि प्रवर्द्धन गर्दै आएका छौँ।’

क्लासिक डाइमन्डका प्रबन्ध निर्देशक अमिर महर्जनले प्रतियोगिताको लागि काठमाडौं र पोखरामा अडिसन गरिने जानकारी दिए।

उनले भने, ‘नेपालका अडिसनपछि, हामी अडिसनमा चयन भएका मोडलहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिनेछौँ। त्यसपछि प्रतियोगीबाट उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डाइमन्ड फेशन तथा ज्वेलरी शोमा उतार्नेछौँ।’

अमेरिकामासमेत तीनवटा आउटलेट रहेको क्लासिक डाइमन्डले अमेरिका रहेका नेपाली मोडलहरू बीच पनि अडिसन लिनेछ।

सो अडिसनबाट चयन भएका दुई मोडललाई नेपाल ल्याएर फेस अफ क्लासिक डाइमन्डको प्रतिस्पर्धामा उतार्ने क्लासिक डाइमन्डका अमेरिका संयोजक समीर महर्जनले जानकारी गराए।

उनले भने, ‘अरूले नेपालबाट मोडलहरूलाई अमेरिका पठाउँछन्, तर हामीले यो प्रतियोगिताको लागि दुई जना नेपाली मोडललाई अमेरिकाबाट नेपाल पठाउँछौँ।’

फेस अफ क्लासिक डाइमन्डको विजेताले १ लाख ५० हजार रुपैयाँ, फस्ट रनरअपले १ लाख रुपैयाँ, र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

उनीहरूले क्लासिक डाइमन्डका विभिन्न गतिविधिमा काम गर्ने अवसर पनि पाउनेछन्।

क्लासिक डाइमन्डको ग्रान्ड फेशन तथा ज्वेलरी शो आगामी माघ ४ र ५ गते काठमाडौंमा हुनेछ। सोही कार्यक्रममा फेस अफ क्लासिक डाइमन्डका विजेताहरूलाई पुरस्कृत गरिनेछ।

प्रतियोगितालाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्नेछन्।

यस्तै पत्रकार सम्मेलनमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले फेस अफ क्लासिक डाइमन्ड प्रतियोगिताले नेपालमा धेरै राम्रा मोडलहरूलाई यो क्षेत्रमा ल्याएको बताइन्।

अर्की पूर्व मिस नेपाल अस्मी श्रेष्ठले पनि फेस अफ क्लासिक डाइमन्ड प्रतियोगितामा जोडिन पाउँदा खुसी व्यक्त गरिन् भने अन्तर्राष्ट्रिय मोडल सविता कार्कीले पनि फेस अफ क्लासिक डाइमन्डसँगको अनुभव पत्रकारहरूलाई सुनाइन्।

सम्बन्धित समाचार

सबै