
जेपिटी क्रियशनले आफ्नो चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’ को तेस्रो सिजन बन्द गर्ने घोषणा गरेको छ।
निर्देशक तथा अभिनेता अर्जुन घिमिरे पाँडेले सामाजिक सञ्जालबाट तेस्रो सिजनको समाप्ति घोषणा गरेका छन्। यसबारेमा यसका सबै प्रमुख सदस्यहरूले आफ्नो फेसबुकमा पोस्ट गरेका छन्।
तेश्रो सिोजन बन्द गरेपनि टिमले चौथो सिजन बनाउने घोषणा गरेको छ। यसका लागि उनीहरूले दर्शक तथा प्रशंसकहरूबाट सुझाव पनि मागेका छन्।
‘तेस्रो सिजनका ९३ एपिसोड उत्पादन र प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि हामी केही समय विश्राम लिँदैछौँ। यसबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई विवेकसम्मत प्रयोग गरेर थप उत्कृष्टतासँग हामी चाँडै नै चौथो सिजन ल्याउने प्रतिवद्धता प्रकट गर्दछौँ,’ श्रृंखलाका प्रमुख कलाकार र निर्देशक अर्जुन घिमिरे पाँडेले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्।
‘कला सिर्जनामार्फत नेपाली सामाजिक रुपान्तरणका लागि समाजशास्त्रमा आधारित मौलिक कथा, भाषा, शैली, पात्र, प्रवृत्ति (व्यक्ति/व्यक्तित्वका आचरण), पहिचान, संवेदनशीलता, भाइचारा, विविधताभित्रका मिठासजस्ता पक्षलाई कुन प्रकारले उठाएको हेर्न चाहनुहुन्छ? यहाँहरूबाट प्राप्त हुने रचनात्मक र सिर्जनात्मक अपेक्षाहरू र अनुभूतिहरूप्रति सदैव ऋणी रहनेछौँ,’ पाँडेको पोस्टमा अगाडि लेखिएको छ।
तेस्रो सिजनको लागि एजेन्सी एड लिभसँग जेपिटी क्रियशनले १०४ एपिसोडको सहमति गरेको भएपनि ९३ औं एपिसोडमा सहमति अनुसार नै तेस्रो सिजन रोकेको जानकारी उनीहरूले दिएका छन्।
हाल यो टिमले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’ नेपाली सिनेमाहलमा प्रदर्शन भइरहेको छ।