
शुक्रबार रिलिज हुन लागेको सिनेमा ‘द्रौपदी’ का निर्देशक ऋषिराज आचार्यले आफ्नो सिनेमामा कुनै कलाकार विशेषभन्दा पनि कन्टेन्ट नै हिरो भएको बताएका छन्।
सिनेमा प्रचारका लागि मोफसल भ्रमणपछि काठमाडौं फर्किएका निर्देशक आचार्य दर्शकको प्रतिक्रियाबाट उत्साहित देखिए। उनले बुटवल, दाङ, नेपालगन्ज, पोखरा, चितवन लगायतका सहरहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष संवाद गरेको र पाएको प्रतिक्रियाले आफूलाई उत्साह थपेको बताए।
‘दर्शकहरूले हामीले तपाईंको ट्रेलर हेर्यौं, एकदमै मन छोयो भन्नुभएको छ। कतिपयले हामी गाडी रिजर्भ गरेर पनि आउँछौं भन्नुभएको छ। यस्तो प्रतिक्रिया सुन्दा एकदमै खुशी लागेको छ। चैत ८ गते ‘द्रौपदी’ प्रदर्शन हुँदैछ, त्यसैले बढीभन्दा बढी दर्शकसम्म पुग्ने प्रयास गरिरहेका छौं,’ उनले भने।
निर्देशक आचार्य यस सिनेमाका निर्माता, लेखक तथा प्रमुख अभिनेता समेत हुन्।
‘द्रौपदी’ बाट नेपाली सिने क्षेत्रमा तीन नयाँ अनुहार— रवि ओड, अश्विनी शाही, तथा सुजाता तिमल्सिना डेब्यू गर्दैछन्। रवि नेपाल आइडल २ का विजेता हुन्, भने अश्विनी शाही मोडलका रूपमा परिचित छन्।
निर्देशक आचार्यले आफ्ना मुख्य कलाकारहरू नयाँ भए पनि सिनेमामा उत्कृष्ट काम गरेको दाबी गरे।
‘नयाँ भए पनि राम्रो काम गर्नुभएको छ। ठूलो पर्दाका लागि नयाँ भए पनि अभिनय सिकेर, खारिएर आएका प्रतिभाहरूलाई मैले अवसर दिएको हुँ। मुख्य कुरा को कलाकार हो भन्ने होइन, कन्टेन्ट हेर्न आउने हो। ‘द्रौपदी’ कन्टेन्ट हिरो भएको सिनेमा हो,’ आचार्यले भने।