‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को रेडकार्पेट प्रिमियर, यस्तो पायो प्रतिक्रिया

0 Shares

चैत्र ८ गते, भोली शुक्रबारबाट प्रदर्शनमा आउने सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को बुधबार रेड कार्पेट प्रिमियर शो आयोजना गरिएको थियो।

कमलपोखरीमा अवस्थित बिग मुभिज सिटीसेन्टरमा आयोजित प्रिमियर शोमा सिनेमाकर्मी र पत्रकारहरूको बाक्लो उपस्थिती थियो।

यो सिनेमा हेर्न पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) र गत फागुन २३ गतेदेखि प्रदर्शनरत सिनेमा ‘होस्टेल ३’ को निर्माण टिम पनि सिनेमा हेर्न हल पुगेका थिए। सिनेमा हेरेर हलबाट निस्किंदा क्राइम थ्रिलर जनरामा उत्कृष्ट सिनेमा निर्माण भएको प्रतिक्रिया दिएका थिए।

अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनरामा निर्माण भएको उत्कृष्ट सिनेमा ‘११:५५’ रहेको बताइन्। सिनेमामा अभिनय गरेका सर्व कलाकारहरूले उत्कृष्ट काम गरेका छन्। अझ विशेषत: अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र पात्रले मन जितेको बताइन्। डेब्यू निर्देशक केशव पाण्डेले सस्पेन्स क्राइम थ्रिलर जनराका सिनेमा रुचाउने दर्शकका लागि उत्कृष्ट सिनेमा प्रस्तुत गरेको बताउँदै आफ्नो भनाइ राखे।

निर्देशक सुवर्ण थापाले पनि एउटा घरभित्र गजबले सिनेमा सक्किएको भन्दै डेब्यू निर्देशक पाण्डेको तारिफ गरेका थिए। नेपालमा थोरै मात्र सस्पेन्स क्राइम थ्रिलर जनरामा सिनेमा बन्ने भएकाले यस्ता सिनेमालाई प्रोत्साहन गर्नु पर्ने बताए। निर्देशक तथा हास्य कलाकार दीपक आचार्य (काकु)ले सिनेमा उत्कृष्ट बनेको भन्दै पछिल्लो समय दर्शकको नजरमा परेका मुख्य अभिनेता महेश त्रिपाठीको कामले मन जितेको बताए। साथै, सिनेमामा अभिनय गरेका अन्य कलाकार र निर्देशकको समेत तारिफ गरेका थिए।

सिनेमाका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेब्यू अभिनेता सागर खनालले पनि प्रिमियर शोमा प्राप्त उत्कृष्ट प्रतिक्रियाले उत्साहित भएको बताए। आज आयोजित प्रिमियर शोमा जसरी उपस्थित पाहुनाहरूले रुचाएका छन्, त्यसरी नै हलमा दर्शकले पनि सिनेमा मन पराउनेमा आशावादी देखिएका छन्।

सिनेमाका डेब्यू निर्देशक केशव पाण्डेले पनि आफ्नो लामो समयदेखिको मेहनत र सपना साकार भएको बताए। “मैले ठूलो सपना देखेर यो सिनेमा निर्माण गरेको थिए। त्यो पाउँदा निकै खुशी लागेको छ। मेरो कथालाई मैले छानेका कलाकारहरूले जीवित अभिनय गरेर न्याय गरेका छन्, उनीहरूलाई म आभारी छु,” निर्देशक पाण्डेले भने।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन्। यो उनको डेब्यू निर्देशन सिनेमा हो। सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन्।

बिचित्र फिल्म्स र गुड जब आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। सिनेमामा सागर सहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन्। सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन्। सिनेमालाई कुवेर सिने डिस्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै