
आगामी चैत्र २२ गते रिलिज हुने सिनेमा ‘वसन्त’ को अफिसियल ट्रेलर पर्सी शनिबार सार्वजनिक हुने तयारी भैरहेको छ।
काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त-साँझ’ को आयोजना गर्दै सिनेमाको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्देशक तथा अभिनेता प्रकाश सपुतको छ।
चैत्र ९ गते, ४ बजे सिटी स्क्वायर मल अगाडि आयोजना हुने वसन्त साँझ मा अभिनेत्री स्वस्तिमा खड्का, गायक तथा अभिनेता प्रकाश सपुत, गायिका शान्तिश्री परियार, प्रीति आले, र देवेन्द्र बब्लु (द फिरन्ते)ले प्रस्तुति दिनेछन्। सिनेमाका निर्देशक, अभिनेता तथा गायक प्रकाश सपुतले धेरैभन्दा धेरै दर्शकलाई उपस्थित भएर वसन्त साँझलाई भव्य र सभ्य बनाउन शुभचिन्तकहरूलाई अपील गरेका छन्।
गायक प्रकाश सपुतको डेब्यू निर्देशनमा निर्माण भएको सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्काबाहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न गर्ने संघर्षको कथा सिनेमाले प्रस्तुत गर्ने छ। सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन्।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन्।