
गत हप्ता रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले नेपालमा अपूर्व सफलता प्राप्त गर्दै यात्रा तय गरिरहेको छ। पहिलो हप्तामा नै उच्च दर्शक आकर्षित गर्न सफल यो चलचित्र दोस्रो हप्तामा अझ व्यापक रूपमा प्रदर्शन भइरहेको छ।
प्रारम्भमा १०५ शोबाट सुरु भएको प्रदर्शन हाल १७० भन्दा बढी शोमा विस्तार भइसकेको छ। दर्शकको अत्यधिक रुचि र सकारात्मक प्रतिक्रियाका कारण नेपालभर शोको संख्या निरन्तर बढिरहेको हो।
चलचित्रको सफलतासँगै विदेशबाट पनि यसको प्रदर्शनका लागि ठूलो माग आएको छ। यसैबीच, ‘अञ्जिला’को अन्तर्राष्ट्रिय प्रदर्शनबारे सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइएको भन्दै निर्माताहरूले आधिकारिक स्पष्टीकरण जारी गरेका छन्।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्स द्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, हालसम्म जापान, कोरिया, क्यानडा, र हङकङ बाहेक अन्य कुनै पनि देशको वितरण र प्रदर्शन अधिकार बिक्री गरिएको छैन। सामाजिक सञ्जालमा विश्वव्यापी रूपमा चलचित्र रिलिज गर्न लागेको दाबी गरिँदै आएको छ, जुन पूर्ण रूपमा भ्रामक र आधारहीन रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
निर्माताहरूका अनुसार, अन्य देशहरूको लागि अब आधिकारिक रूपमा वितरण अधिकार दिने प्रक्रिया सुरु गरिएको छ। इच्छुक वितरक तथा प्रदर्शकहरूलाई आधिकारिक माध्यमबाट मात्र सम्पर्क गर्न अनुरोध गरिएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान र गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिला’लाई लिएर दर्शक र समीक्षकहरूले चलचित्रको कथा, प्रस्तुति, अभिनय, र निर्देशनलाई अत्यधिक सराहना गरेका छन्।
चलचित्रले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यसमा एन्जिलाले राजधानी आउनुअघि र आएपछिको कठोर संघर्षलाई मार्मिक ढंगले चित्रण गरिएको छ।
मिलन चाम्सको निर्देशमा बनेको यो चलचित्र प्रेमकुमार श्रेष्ठले निर्माण गरेका छन्। यस चलचित्रमा कलाकार समेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन्।
शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन्। चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन्, भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन्। सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन्। साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ।