चौंथो नेपाल ग्रामीण फिल्म महोत्सव वैशाख ४ देखि ६ सम्म रसुवामा

0 Shares

नेपाल ग्रामीण फिल्म महोत्सव (NERUFF) को चौंथो संस्करण आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने भएको छ। यस पटकको महोत्सव गोसाईकुण्ड गाउँपालिका, रसुवामा हुने भएको छ। सेलिब्रेटी नेपाल द्वारा आयोजना गरिने यस महोत्सवको उद्देश्य पर्यटन प्रवर्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।

उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरू समावेश गरिनेछन्। महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म, फिचर फिल्म र भाषाभाषी फिल्महरूलाई समावेश गरिनेछ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै फिल्म’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा फिल्महरू, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषी फिल्महरू सहभागी हुनेछन्। जुरी टिमले छनोट गरेका फिल्महरू स्क्रिनिङ गरिनेछन् र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिनेछ।

विगत चार वर्षदेखि आयोजना हुँदै आएको यस महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्महरू प्रदर्शन गरिनेछन्। महोत्सवमा फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशमा आधारित कस्ता फिल्म बनाउने र कस्ता फिल्महरूले दर्शकको मन जित्ने विषयमा अन्तरक्रिया, कार्यशाला र गोष्ठीहरू समेत आयोजना गरिनेछन्।

पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेस्रो पटक रामेछापमा आयोजना गरिएको थियो।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए।

महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ।

गोसाईकुण्ड गाउँपालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि वैशाख २ गते देखि ६ गते सम्म हुनेछ। रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमहरूले विशेष महत्व राख्ने र जिल्लालाई देश तथा विदेशमा समेत चिनाउने आयोजकले दावी गरेका छन्।

सम्बन्धित समाचार

सबै