
प्रकाश सपुतको डेब्यू निर्देशन ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ ।
शनिबार राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ४ मिनेट ५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
सिनेमाले नेपाली समाजमा व्याप्त छुवाछुत र जात प्रथाका कारण रहेको जातको डरको विषयलाई सिनेमाले आफ्नो कथा बनाएको ट्रेलरले प्रस्तुत गरेको छ ।
ट्रेलरले स्कूले किशोरवय अन्तरजातिय प्रेमका कारण नेपाली रुढिवादी समाजले दिने प्रतिक्रियालाई उठाउँदै नेपालले भोगेको द्वन्द्वसँग जोडेको छ जहाँ एक दृश्यमा जात विरुद्धको विद्रोहका लागि माओवादी छापामार बनेको स्वस्तिमा खड्का समेतलाई ट्रेलरमा हेर्न सकिन्छ ।
यस हिसाबले प्रकाशले यो सिनेमाबाट हाम्रो समाज सुन्दर रहेको सुन्दरशास्त्रीय व्याख्या कसरी जातको कुराका कारण निर्दयी र कुरुप बन्न जान्छ भन्ने कुरा सिनेमाबाट प्रस्तुत गर्न लागेको स्पष्ट बुझिन्छ ।
त्यस हिसाबले प्रकासको यो सिनेमाले नेपाली समाजको यथार्थ पस्किने जनाउ ट्रेलर मार्फत दिएका छन् । ट्रेलरको एक भागमा प्रहरी अधिकारी बनेका अनुप बरालले ‘मान्छे कानुनसँग डराउँदैनन् तर अन्धविश्वास सँघ डराउँछ । अन्धविश्वास कानुनभन्दा धेरै माथि छ ।’ भन्छन् । यसको जवाफमा प्रकासले सोध्छन् ‘सर मान्छेको जीवनभन्दा पनि माथी?’
यस संवादले प्रकाशले सिनेमाबाट प्रभावशाली र शक्तिशाली कथा पेस गर्ने सहज अनुमान गर्न सकिन्छ ।
सिनेमा चैत २२ गते रिलिज हुँदैछ ।
नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका छन्। विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले प्रस्तुत गर्ने छ। सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा, तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र बिरेन्द्र नारायण श्रेष्ठ छन्।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानहरूमा सिनेमाको छायांकन गरिएको हो। गायक तथा अभिनेता प्रकाश सपुतको डेब्यू निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका छन्। काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमालाई वितरण गर्नेछन्।