
एक्सन प्रधान सिनेमा ‘कर्मा’ मार्फत विपीन कार्की पहिलो पटक एक्सन भूमिकामा देखिँदै छन्। उनलाई चुनौती दिन खलपात्रको भूमिकामा मुकुन भुसाल प्रस्तुत हुँदैछन्। मुकुनका लागि पनि यो पहिलो पूर्ण खलपात्रको भूमिका हो।
ग्रे जोनका क्यारेक्टरहरू निभाए पनि पूर्ण रूपमा खलनायकको रूपमा मुकुन पहिलो पटक देखा पर्दैछन्। ‘कर्मा’ मा विपीन र मुकुन आमनेसामने हुँदा सिनेमा कस्तो बन्नेछ? निर्देशक सौरभ चौधरीका अनुसार, यो एक हेर्न लायक फिल्म हुनेछ।
विपीन र मुकुन दुवैले ‘कर्मा’ मार्फत नयाँ अनुभव लिँदै छन्, जसले यो सिनेमा उनीहरूका लागि पनि विशेष प्रतीक्षित बनाएको छ। सधैं पोजेटिभ भूमिकामा देखिएका यी दुई कलाकारबीचको टकराव कस्तो हुनेछ भन्ने कौतूहल सिनेप्रेमीहरूमा छ। सिनेमामा पोजेटिभ पात्रहरूको नेतृत्व विपीनले गरेका छन् भने नेगेटिभ पात्रहरूको कमान्ड मुकुनले सम्हालेका छन्, जसको झलक टिजरमै देखिएको छ।
टिजरमा विपीनको एक्सन देखिए पनि मुकुनको एक्सन भने ट्रेलरमा मात्रै खुल्ने निर्देशक चौधरी बताउँछन्। उनका अनुसार, दुवै कलाकारले एक्सनका लागि गहन मेहनत गरेका छन्।
‘कर्मा’ कथा, प्रस्तुति र मेकिङका हिसाबले हालसम्म आइरहेका सिनेमाभन्दा फरक रहेको मुकुन भुसाल बताउँछन्। उनका अनुसार, ‘कर्मा’ नेपाली सिनेमा उद्योगमा नयाँपन दिनेछ।
यो सिनेमामा विपीन कार्कीको अपोजिटमा उपासना सिंह ठकुरी देखिनेछिन्। साथै, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ।
सिनेमा आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुँदै छ।
‘कर्मा’ एक्सन, ड्रामा र सस्पेन्स जनराको सिनेमा हो, जसको कथा निर्देशक सौरभ चौधरी स्वयंले लेखेका हुन्। अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमा ले खरिद गरिसकेको छ।
सिनेमामा भास्कर स्वाँर को संगीत, कविराज गहतराज को कोरियोग्राफी, श्री श्रेष्ठ को द्वन्द्व निर्देशन, निमेष श्रेष्ठ को सम्पादन, समीर मिया को भिएफएक्स, उत्तम न्यौपाने को ब्याकग्राउन्ड स्कोर, शाहिल खान को टिजर–ट्रेलर, विजय बाश्याल को पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान को कलर ग्रेडिङ समावेश छ। सिनेमाको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्।
आर्टिस्टिक इन्टरटेनमेन्ट को प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालले लगानी गरेका छन्।
निर्देशक चौधरीको अघिल्लो सिनेमा ‘अगस्त्यः च्याप्टर १’ ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो। अब ‘कर्मा’ ले त्यो स्तरलाई अझ उचाइमा लैजान सक्ने आशा गरिएको छ।