
चैत २२ गते प्रकाश सपुत अभिनित, लिखित तथा निर्देशित ‘वसन्त’ रिलिज हुँदैछ। सिनेमालाई लिएर नेपाली बक्स अफिस आशावादी छ। प्रकाशको लोकप्रियताका कारण उनी आशाको केन्द्रमा छन् भने ट्रेलर रिलिजपछि सिनेमाले उचालेको दर्शकको अपेक्षापनि सिनेमा प्रतिक्षित बन्दै गइरहेको छ।
गायन गर्दै सिनेमा अभिनय र त्यसपछि सिनेमा लेखन निर्देशनको चुनौतीसमेत दर्शकको मोहरका लागि उभिएका प्रकाशलाई लिएर नेपाली बक्स अफिस एउटा छेकेमा जति आशावादी भएर हेरिरहेको छ, अर्को छेकेमा सिनेमाको सफलता/असफलताको नतिजापछि प्रकाश के गर्लान भन्ने कुरामा सोच्ने पनि छन्।
यस्तोमा स्वयं प्रकाशको मनमा भने के चलिरहेको होला?
एक अनलाइनलाई दिएको अन्तरवार्तामा उनले आफ्नो योजना सार्वजनिक गरेका छन्।
उनले अहिलेको यो अवस्थालाई परिक्षणको समय मानेका छन्। रिलिज भइसकेका परदेशी-२ र पूर्ण बहादुरको सारंगीबाट केही मात्रामा सिनेमाका लागि दर्शक जोडेको विश्वासमा रहेका उनले *’वसन्त’*को नतिजापछि सिनेमामा कुन प्रकारले सक्रिय हुने निर्णय लिने बताएका छन्।
“२ घण्टाको फिल्ममा भन्दा ५ मिनेटको म्युजिक भिडियोमा मैले भन्ने कथा प्रभावकारी हुने रहेछ भन्ने लाग्यो भने सर्जकको रूपमा त्यसमा धेरै केन्द्रित हुन्छु। यदि ‘वसन्त’ मानिसलाई ठीकै लाग्यो भने अझै डिटेलमा यसरी कथा भन्छु होला,” प्रकाशले भने।
प्रकाशका अनुसार, संगीतबाट पनि कथा पस्किने काम आफूले गरेको भएपनि सिनेमाको क्यानभास ठूलो भएकाले यता आएको बताउँछन्।
“मेरो संगीत कर्म पनि अघि बढिरहेको छ। एक शब्दमा भन्नुपर्दा, मलाई फिल्मको क्यानभास ठूलो लागेको हो। फिल्ममा संगीत पनि अटाउँछ, कथा पनि अटाउँछ, त्यहाँ साहित्य पनि अटाउँछ, समाज पनि अटाउँछ,” उनले भने, “मैले चाहेका कुरालाई अझै विस्तृतमा भन्न सकिन्छ कि, आफू अझै बढी पोखिन सकिन्छ कि भनेर। सिनेमाको क्यानभास, मैले गरेका कर्महरूको क्यानभासभन्दा अलि विशाल लागेर अहिले यो क्यानभासमा काम गरेको हुँ।”