
गायिका मिलन नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ। उनले आफ्नै युट्युब च्यानलबाट ‘सुनसान रात २, भाग १’ को रूपमा यो गीत सार्वजनिक गरेकी हुन्।
राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यस गीतको भिडियोमा मिलन नेवार, रामचन्द्र अधिकारी (गोक्ते काजी), राजनराज शिवाकोटी तथा बाल कलाकार परिना भण्डारीले अभिनय गरेका छन्। परिनाको यो पहिलो अभिनय हो।
गीतमा आमाले सानी छोरीलाई माइतीको बुवासँग छोडेर वैदेशिक रोजगारीमा जानुपरेको मार्मिक सन्दर्भ प्रस्तुत गरिएको छ। राजुजंग बस्नेतको कथा तथा निर्देशनमा बनेको भिडियोमा आमा, छोरी र बुवाबीचको सम्बन्धलाई भावनात्मक रूपमा चित्रण गरिएको छ।
यस गीतको भिडियोमा अमृत सुनुवारको छायांकन, निर्देशक बस्नेतकै सम्पादन तथा कुनाल कुँवरको कलर ग्रेडिङ रहेको छ।
छिट्टै ‘सुनसान रात २ – भाग २’ अन्तर्गत ‘बिर्सिदे भन्छ्यौ’ पनि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। उक्त गीतमा ‘तिमी टाढा छौ’ मा देखाइएको विछोडको पछाडिको रहस्य उजागर गरिनेछ।