‘कर्मा’को नयाँ गीत : उपासनाको प्रेममा विपीन भए ‘पागल’

0 Shares

फिल्म ‘कर्मा’को गीत सार्वजनिक भएको छ। सुशान्त केसीको युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो। ‘पागल’ बोलको प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ। गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ।

विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्नासाथ मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ। गीतको शब्द तथा लय सुशान्त केसीकै शैलीमा छ, जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा निर्माण पक्ष ढुक्क छ। एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइ सुशान्तले गीतमा उतारेका छन्।

फेसबुक सर्ट तथा रिल्समा राखिएको छोटो क्लिप नै दर्शकले अत्यधिक मन पराएका थिए। अहिलेको युवा पुस्ताले रुचाउने खालको गीत उनले तयार पारेका छन्। फिल्ममा सुशान्तले गाएको यो पहिलो गीत हो। यसअघि थुप्रै फिल्मबाट अफर आए पनि उनले फिल्मका लागि गीत गाएका थिएनन्। उनी कलेक्सन एल्बममा मात्रै गीत गाउँछन्।

सुशान्तले, “फिल्मको पहिलो गीत, नयाँ अनुभव, चैतमा छिट्टै हलमा” भन्दै यसअघि नै सामाजिक सञ्जालमा लेखेका थिए।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्। विपीन र उपासनाले भिडियोमा अभिनय गरेका छन्। एकअर्काप्रतिको प्रेम गीत र भिडियोमा देख्न सकिन्छ। फिल्मको फुटेज भिडियोमा प्रयोग गरिएको छ। फिल्मका कलाकार जति नै सुशान्त पनि भिडियोमा फिचर्ड छन्।

नयाँ वर्ष २०८२ को अवसर पारेर फिल्म ‘कर्मा’ आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ रिलिज हुँदै छ।

‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन मिश्रित फिल्म हो। फिल्मको कथा निर्देशक चौधरी आफैँले लेखेका हुन्। ‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज फिल्म्सले लिएको छ।

फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ। निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो।

सम्बन्धित समाचार

सबै