ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ का प्रतियोगी बीच ब्राइडल कम्पिटिसन

0 Shares

बिगत ७ वर्षदेखि आयोजना हुँदै आएको एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ७ को ग्रान्ड फिनाले यही २८ चैतमा ज्यापु प्रज्ञा प्रतिष्ठान, च्यासल, ललितपुरमा हुने भएको छ।

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.द्वारा आयोजित यस प्रतियोगिताका प्रतियोगीहरू बीच हिजो साँझ काठमाडौँको त्रिपुरेश्वर स्थित डि भ्याली रेष्टोरामा ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ।

यस ट्यालेन्ट राउन्डमा उनीहरूले ब्राइडल मेकअप, जुरो, मेहन्दी आर्ट, नेल आर्ट जस्ता विविध कला प्रस्तुत गरेका छन्।

यसैबीच, यो प्रतियोगिताको फाइनलका लागि १७ प्रतियोगी चयन भएका छन्। यिनै १७ जना बीच ट्यालेन्ट शोमा प्रतिस्पर्धा भएको हो।

प्रतियोगितामा चयन भएका २२ प्रतियोगी मध्यबाट ट्यालेन्ट राउन्ड पछि फाइनल चरणमा १७ जना ब्युटिसियन प्रतियोगीहरू प्रवेश गरेका छन्।

ग्रान्ड फिनालेमा प्रवेश गरेका १७ जना प्रतिस्पर्धीहरूमा निशा रजक, रोशनी पुजारी, रविना ठकुरी, रचना बज्राचार्य, सुमित्रा खवास, स्नेहा चौधरी, सुजिता अधिकारी, दुर्गा सुवेदी, सुजिता दयाल, निर्माला पौडेल, स्मृति सुब्बा, सपना रसाईली, अन्जनी चौधरी, मनसरा राई, सुनिशा शाक्य, स्वस्तिका बस्नेत र पुजा विश्वकर्मा बस्नेत रहेका छन्।

ट्यालेन्ट राउन्डको निर्णायकमा ब्राइडल मेकअप तर्फ ब्युटिसियनहरू गीता खनाल, उषा गुरुङ, कस्मोलोजिष्ट परिषी कारंजित, डेन्टिस्ट सागर जोशी, र ब्युटिसियन ट्यालेन्ट नेपाल तेस्रो सिजनकी विजेता लिना डंगोल रहेका थिए। यस्तै, ब्राइडल जुरोको निर्णायकमा ब्युटिसियन ट्यालेन्ट नेपाल हालकी विजेता शर्मिला बुढाथोकी, लायन नकुल गिरी, सुरेन्द्र गिरी थिए। नेल तथा मेहन्दी आर्ट प्रतिस्पर्धाको निर्णायकमा नेल टेक्निसियन सुजन तिमिल्सिना र ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ५ की विजेता मनिषा श्रेष्ठ थिईन्।

ट्यालेन्ट राउन्डको उद्घाटन पानसमा बत्ति बालेर गणेशमान सिंह बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल डिएन पराजुलीले गरे। कार्यक्रमका प्रतिस्पर्धी सबैलाई उनले शुभकामना दिँदै, यो प्रतियोगिताले ब्युटिसियनहरूको व्यक्तित्व विकाससँगै उनीहरूको प्रतिभा प्रस्तुतिका साथै समाजमा गएर आफूलाई सशक्त रूपमा उभ्याउन मद्दत पुग्दै आएको बताए।

ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन ७ को ट्यालेन्ट राउन्डका विजेताहरूको घोषणा सोही २८ चैतको ग्रान्ड फिनाले समारोहमा गरिने आयोजक रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले जानकारी गराएकी छिन्।

पार्लरमा रहेका ब्युटिसियनहरूलाई बाहिर ल्याई, उनीहरूको व्यक्तित्व विकास, प्रतिभा प्रस्तुति र महिला सशक्तिकरणका लागि आफूहरूले यो प्रतियोगिता गर्दै आएको अर्का आयोजक डब्बु क्षत्रीले सो कार्यक्रममा बताए।

सम्बन्धित समाचार

सबै