४० नृत्यकारले सप्ताहव्यापी प्रशिक्षणमा नृत्यक्षर कला सिके

0 Shares

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गत मंगलबारदेखि यो मंगलबारसम्म आयोजना गरेको सप्ताहव्यापी नृत्यक्षर विज्ञान प्रशिक्षणमा ४० जना नृत्यकारहरूले नृत्यसँग सम्बन्धित व्याकरणीय कला सिकेका छन्। उनीहरूले सैद्धान्तिकसँगै प्रयोगात्मक प्रशिक्षण समेत लिएका छन्। सो प्रतिष्ठानको नृत्य विभागद्वारा यो प्रशिक्षणको आयोजना गरिएको हो।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नियमित रूपमा ४० जना नृत्यकारहरूले यो प्रशिक्षण लिएका छन्। उनीहरूलाई मंगलबार सो प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव प्रगति महरा, परिषद सदस्य एवं नृत्य विभाग प्रमुख सुवर्ण हमाल, नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापालगायतले प्रमाणपत्र प्रदान गरे।

आफूहरूले यसअघि विभिन्न कार्यक्रमहरूमा नृत्य प्रस्तुत गर्दै आए पनि यसको शास्त्रीय तथा सैद्धान्तिक ज्ञानको अभाव भएकाले यो प्रशिक्षण निकै उपयोगी हुने प्रशिक्षार्थीहरूले कार्यक्रममा बताए। उनीहरूलाई दैनिक ६ घन्टाको दरले साप्ताहिक रूपमा ४९ घण्टाको प्रशिक्षण दिइएको थियो।

प्रशिक्षण समापन समारोहका प्रमुख अतिथि एवं नेपालका प्रथम नृत्य निर्देशक भैरवबहादुर थापाले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै भने कि यस प्रशिक्षणले नृत्य कलाकारहरूमा व्यवहारिकसँगै सैद्धान्तिक ज्ञानको वृद्धिले सहयोग पुर्याएको छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले यसरी नृत्यक्षरमा आधारित रहेर नेपालमा पहिलो पटक प्रतिष्ठानले यस्तो प्रशिक्षण दिएको उल्लेख गरे।

यस्तै, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले पनि प्रशिक्षण सधैं उपयोगी हुने बताउँदै, त्यहाँ सिकेका कुरालाई जीवनमा लागू गर्न विधार्थीहरूलाई सुझाव दिए। सोही प्रकारे, सो प्रतिष्ठानकी सदस्य सचिव प्रगति महराले पनि नृत्यसँग सम्बन्धित यो प्रशिक्षण अघिल्लो वर्षको भन्दा निकै फरक र थप उपयोगी भएको भनिन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा नृत्य विभाग प्रमुख सुवर्ण हमालले नृत्यको व्याकरणबारे नृत्यकारहरू नै अनविज्ञ रहेको बेला यो प्रशिक्षण नृत्य कलाकारलाई दिइएको बताए। उनले भने, “यसबाट नृत्य कलाकारहरूले सैद्धान्तिक र व्यवहारिक ज्ञान प्राप्त गरेका छन् र एक हप्ताको प्रशिक्षणमा नृत्य कलाकारहरूले सोचेकोभन्दा बढी नै सिक्ने अवसर पाएका छन्।”

सप्ताहव्यापी नृत्यक्षर प्रशिक्षण कार्यक्रममा उनीहरूलाई नृत्य निर्देशक कृष्ण प्रसाद पौडेल र अनमी बोहराले प्रशिक्षण दिएका थिए। प्रशिक्षार्थीहरूलाई यसपटक नृत्य क्षण अर्थात् नृत्यको सैद्धान्तिक ज्ञान, भाव, मुद्रासँगै प्रयोगात्मक रूपमा नृत्य प्रशिक्षण दिएको पौडेलले बताए। कार्यक्रममा लिएको नृत्य प्रशिक्षण अन्तर्गत उनीहरूले नृत्य गरेर पनि कार्यक्रम देखाए।

आफूहरूले अभ्यासका क्रममा गरेको नृत्यका भावहरू सहितको प्रस्तुति संबंधित कलाकारहरूले देखाएका थिए। समापन समारोहमा प्रशिक्षार्थी निर्मला नेपाल र दीपेश माझीले आफ्नो अनुभव सुनाउँदै भने कि यस पटक नृत्य क्षर सम्बन्धी प्रशिक्षण लिँदा उनीहरूले गरिरहेको नृत्यका बारेमा अझ राम्ररी बुझ्ने अवसर पाएका छन्।

सम्बन्धित समाचार

सबै